एनसेल फाउन्डेसनद्वारा शिक्षामा एनसेल एनएसएलमार्फत सहयोग पुर्याउने प्रतिबद्धता


काठमाडौँ । हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेल फाउन्डेसनले शिक्षा र समुदाय सशक्तीकरणप्रति आफ्नो प्रतिबद्धता अनुरूप यो सिजनभरि गरिने प्रत्येक १ गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने प्रतिबद्धता जनाएको छ ।
यो पहल विषेशगरी देशका दुर्गम क्षेत्रमा अवस्थित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको स्रोतको अभावलाई घटाउँदै, गुणस्तरीय शिक्षाका लागि योगदान पुर्याउने फाउन्डेसनको प्रतिबद्धतामा आधारित रहेको कम्पनीले जनाएको छ ।
मङ्गलवारसम्म खेलिएका खेलहरू र तीनका नतिजा अनुसार फाउन्डेसनले ११ गोल बापत २७५ शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चित भइसकेको एनसेलले जनाएको छ ।
कम्पनीका अनुसार यसरी वितरण हुने सामग्रीहरूमा झोला, कापी, सिसाकलम, शार्पनर, इरेजर जस्ता आवश्यक शैक्षिक सामग्रीहरू समावेश हुन्छन् । यसले स्रोतसाधन अभाव भएका समुदायका विद्यार्थीहरूलाई उनीहरूको सिकाइ अनुभव सुधार गर्न योगदान पुर्याउने लक्ष्य राखेको छ ।
‘हाम्रा समुदायहरूको सम्बन्ध फुटबलसँग गहिरो छ र यो पहलले फुटबलको उत्साहलाई विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि अर्थपूर्ण शैक्षिक सहयोगमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ,’ एनसेलकी एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाइरेक्टर विषाशा लक्ष्मी खड्काले भनिन् । ‘हामी नेपाल सुपर लिगका सबै खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्छौँ र यस महत्त्वपूर्ण उद्देश्यका लागि थप गोलहरू हुनेमा उत्साहित छौँ ।’
