उतारचढावका बीच सकियो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गिरीको पाँच वर्ष
१३ महिना आफ्नो कार्यभारबाट वञ्चित


काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी पाँचवर्षे कार्यकाल पूरा गरी आजदेखि जिम्मेवारीबाट बिदा हुँदैछन् । आफ्नो कार्यकालमा विभिन्न उतारचढावका बाबजुद प्रतिष्ठानमा सेवा स्तरोन्नति र सुदृढीकरण, लामो समयदेखि हुन नसकेको कर्मचारीको वृत्ति विकास र आर्थिक समस्यालाई हल गर्न सफल भएको उनी बत्ताउँछन् । उपकुलपतिका रूपमा डा गिरी २०७६ चैत २७ गते नियुक्त भएका थिए ।
नियुक्तिअघिदेखि नै प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगको नियमावली र त्यसअनुसार विभिन्न विधाहरूमा पढ्ने विदेशी विद्यार्थीको सङ्ख्यामा भारी कटौतीका कारण आर्थिक समस्या खेप्दै आइरहेको उल्लेख गर्दै उपकुलपति डा गिरीले लामो प्रयासका बाबजुद त्यसलाई समाधान गर्न सफल भएको बत्ताउँछन् ।
प्रतिष्ठानको मुख्य आयस्रोत नागरिकलाई उपचार दिएबापतको रकम नभई दक्ष जनशक्ति उत्पादन गरेबापतको शुल्क भएको उनको भनाइ छ । प्रतिष्ठानले आमनागरिकलाई दिइने उपचार सेवाबापतको शुल्क मुनाफा लिने उद्देश्यले भन्दा पनि सेवाको उद्देश्य लिएको उनले उल्लेख गरे ।
रासससँग कुरा गर्दै उपकुलपति डा गिरीले नियुक्तिको समयमा कोभिड–१९ को महामारीले सामान्य सेवा समेत कैयौँ दिनसम्म बन्द गर्नुपरेकाले प्रतिष्ठान थप आर्थिक भारको मारमा परेको बताए। “त्यस्तो परिस्थितिमा समेत सबैको प्रयासले कोभिड अस्पताल सञ्चालन गर्न सफल भयौँ”, उनले भने ।
उपकुलपति डा गिरी करिब १३ महिना आफ्नो कार्यभारबाट वञ्चित भएका थिए । न्यायालयको आदेशपछि १३ महिनापछि उनले २०८० फागुन १७ गतेदेखि पुनः आफ्नो पदभार ग्रहण गरेका थिए । दोस्रो पटक पदभार ग्रहण गरेपछि उनले लामो समयदेखि ठप्प भएका शिक्षक कर्मचारीको आन्तरिक बढुवा प्रक्रियालाई निष्कर्षमा पु¥याउनुभएको चियो । त्यसै गरी, आठ वर्षदेखि हुन नसकेको प्रतिष्ठानको दीक्षान्त समारोह पनि २०८१ कात्तिक २६ गते उहाँकै नेतृत्वमा आयोजना भएको थियो । आफ्नो कार्यकालमा ‘आइसियु’ बेड सङ्ख्या ३२ बाट ४२ थप गरी जम्मा ७४ बनाएको र ‘डायलासिस’ सेवाका लागि थप २० शैय्या सञ्चालनमा ल्याएको उपकुलपति डा गिरीले जानकारी दिए । उनकै नेतृत्वमा आपत्कालीन सेवा स्तरोन्नति गर्न थप ४० ‘जनरल’ शैय्या तथा आठ ‘आइसियु एचडियु’ शैय्या स्थापना गरिएको उनी बत्ताउँछन् ।
“पुराना थन्किएका उपकरणको मर्मत सम्भार गर्ने कार्यसँगै नयाँ नयाँ उपकरण समेत खरिद गरी सेवालाई थप विस्तार एवं सुदृढ गर्न सफल भयौँ”, उपकुलपति डा गिरीले भने ।
यसै गरी प्रतिष्ठानले एक विज्ञप्तिमार्फत डा गिरीको कार्यकालमा भए गरेका कामकारबाही बारेमा जानकारी गराउँदै नेपालकै दोस्रो र उपत्यका बाहिर पहिलो अत्याधुनिक प्रविधिको २५६ स्लाइसको सिटीस्क्यान मेसिन खरिद गरी जडान गरिएको प्रतिष्ठानका प्रवक्ता प्रा डा अञ्जु प्रधानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उपकुलपति डा गिरीकै कार्यकालमा २० हजार लिटरको लिक्विड अक्सिजन ट्याङ्क जडान भई हालसम्म सञ्चालनमा रहेको छ । प्रतिष्ठानको कलेज अफ डेन्टल सर्जरीअन्तर्गतको ओरल मेडिसिन एण्ड रेडियोलोजी विभागमा लामो समयदेखि एक्स–रे मेसिन बिग्रिएर बन्न नसक्ने अवस्था भएपश्चात् २०८१ साउन २१ गते अत्याधुनिक नयाँ ‘ओपिजी एण्ड लेटरल केफ्लोग्राम मेसिन’ जडान गरिएको प्रतिष्ठानले जनाएको छ ।
उपकुलपति डा गिरीकै कार्यकालमा प्रतिष्ठानलाई प्रविधियुक्त बनाई पेपरलेस गर्ने उद्देश्यले आवश्यक पहलको थालनीदेखि लिएर प्रतिष्ठानलाई विपी कोइराला मेडिकल विश्वविद्यालयको रूपमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ । अन्तर्राष्ट्रिय स्तरको विभिन्न उत्कृष्ट केन्द्रहरूसँग द्विपक्षीय सम्झौता गर्ने प्रक्रियाअघि बढाइएको प्रतिष्ठानले जनाएको छ ।
प्रवक्ता प्रा डा प्रधानका अनुसार उपकुलपति डा गिरीकै कार्यकालमा नेपाल सरकारको स्वास्थ्य नीतिअनुरूप प्रतिष्ठानले औषधि बिक्री वितरणका लागि छुट्टै भवन २०८१ माघ १० गते उद्घाटन भई फार्मेसी सेवा सञ्चालन गरिएको छ । सोही भवनबाट पूर्णरुपले क्यान्सर उपचारसम्बन्धी सेवा र जलेर आउने बिरामीको उपचार सेवा हाल आंशिकरुपले प्रदान गर्दै आएको छ ।
प्रतिष्ठानका अनुसार उपकुलपति डा गिरीले जिम्मेवारी सम्हालेको सुरुका दिनदेखि नै निर्माण कार्य स्थगन गरिएको मातृ शिशु भवनको निर्माण कार्यको पुनः थालनी गरी हाल निर्माण कार्य लगभग सम्पन्न अवस्थामा पुगेको छ । यथाशीघ्र सो भवनबाट स्त्री तथा प्रसूति रोग विभागको बहिरङ्ग सेवा सञ्चालनमा ल्याउने कार्ययोजना रहेको प्रतिष्ठानले जनाएको छ ।
देशभरका स्वास्थ्य संस्थाले त्यहाँ उपचार गराउन आउने बिरामीलाई सहज तथा गुणस्तरीय सेवा प्रदान गरोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक वर्ष देशभरिका सबै स्वास्थ्य संस्थामा गई न्यूनतम सेवा मापदण्ड (एमएसएस) मापन गर्ने गरेको छ । उपकुलपति डा गिरीको कार्यकालमा प्रतिष्ठानको एमएसएस मापन ५३ बाट बढेर ७५ प्रतिशतसम्म पुगेको विज्ञप्तिमा उल्लेख छ ।
