कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा थप टेवा पुग्ने

तेह्रथुम । उपप्रधानमन्त्री प्रकाशमान सिंहले कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन् ।

आज तीनजुरे क्षेत्रस्थित ‘आरआर गार्डेन’मा कोशी प्रदेशले सुरु गरेको ‘पर्यटन वर्ष २०८२’ को शुभारम्भ समारोहलाई सम्बोधन गर्दे उनले तीनै तहका सरकार मिलेर जनताको अवस्था बदल्नुपर्नेमा जोड दिए ।

प्रदेश सरकार कोशी प्रदेश पर्यटन वर्ष–२०८२ मूल आयोजक समितिको आयोजनामा समारोह सम्पन्न भएको हो ।

शुभारम्भ समारोहका अध्यक्ष तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विगतका वर्षमा पर्यटनमा भएका कमीकमजोरीलाई सच्याएर काम गर्ने प्रतिबद्धता जनाए ।

त्यसैगरी पर्यटकीय गन्तव्यको विकास गर्दै पर्यटनबाट राष्ट्रिय पुँजी निर्माण गर्नेसमेत उनले बताए ।

गुराँसको राजधानी घोषणा गरिएको पर्यटकीय क्षेत्र (टिएमजे) तीनजुरे मिल्के जलजले क्षेत्रमा पर्यटक मैत्री संरचना निर्माण गरिएका छन् ।

गुराँस फुल्ने याममा उक्त, क्षेत्रमा देश तथा विदेशबाटसमेत पर्यटकहरू आउने गर्छन् । विशेष गरी पूर्वी तराई तथा भारतको विहार, सिक्किम, दार्जिलिङ क्षेत्रबाट बर्सेनि हजारौँ पर्यटकहरू आउने गर्छन् ।

सो समारोहलाई सम्बोधन गर्दै भारत विहारका लोकसभा सदस्य रामप्रति मण्डलले सुन्दर देश नेपालमा भारतीय पर्यटक पठाउन समन्वय गर्ने बताए ।

उनले नेपाल र भारतबिच गहिरो सम्बन्ध रहेको बताउँदै नेपालीहरूले भारतीय सेनामा कार्यरत रही भारतमा पुर्याएको योगदानको चर्चा गरे ।

टिएमजे क्षेत्र तेह्रथुम, ताप्लेजुङ र सङ्खुवासभा जिल्लाको सिमानामा पर्छ । यहाँ २८ प्रजातिका गुराँस पाइन्छन् ।

तेह्रथुमको लालीगुराँस नगरपालिकाले सो समारोहको समन्वय गरेको थियो । नगरप्रमुख अर्जुनबाबु माबुहाङले रित्तिइरहेको पहाडलाई यस्ता पर्यटकीय क्षेत्रमा निर्माण गरिने संरचना र प्रचारप्रसारले पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रमुख माबोहाङकै परिकल्पनामा गुराँसे जङ्गलको बीचमा आरआर गार्डेन निर्माण गरिएको हो । त्यसैगरी रैथाने शैलीमा चोत्लुङ पार्क निर्माण गरिएको छ ।

जसले पर्यटकीय नगरी लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पर्यटकीय चहलपहल बढेको छ ।

समारोहमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, कोशी प्रदेश सभामुख अम्बरबहादुर विष्ट, प्रतिनिधिसभा सदस्यहरू सीता गुरुङ, राजेन्द्र राईलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *