अफगानिस्तानको यु–१९ विरुद्ध नेपालको सान्त्वना जित

काठमाडौं । युथ एक दिवसीय शृङ्खलाअन्तर्गत अफगानिस्तानको यु–१९ क्रिकेट टोलीविरुद्धको अन्तिम खेलमा नेपालले जित हात पारेको छ ।

आज भएको तीन खेलमध्येको अन्तिम खेलमा अफगानिस्तानलाई ८५ रनले हराउँदै नेपाल यु–१९ले सान्त्वना जित हात पारेको हो ।

आज अफगानिस्तानलाई नेपालले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि खेल रोकिएको थियो ।

वर्षाका कारण खेल अगाडि बढ्न नसकेपछि डिएलएस विधिबाट नेपालले जित हात पार्‍यो । अफगानिस्तानले २० दशमलव १ ओभरमा आफ्नो ६ विकेट गुमाउँदै ४६ रन बनाएको थियो ।

अफगानिस्तानका लागि फैसल शिनोजादाले १६, अजीजुल्लाह मिया खिलले १५, कप्तान महबुब खानले ८, बरकत इब्राहिमजाइले ५ र नाजिफुल्लाह अमिरीले एक रन जोडे । अफगानिस्तानले अतिरिक्त एक रन प्राप्त गर्‍यो ।

नेपालका लागि अपराजित पौडेलले दुई विकेट हात पार्दा दयानन्द मण्डल, विपिन शर्मा, सन्तोष यादव र अशोक धामीले समान एक÷एक विकेट हात पारे ।

त्यसअघि, मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो ।

तीन खेलको शृङ्खला भने अफगानिस्तानले २–१ ले जितेको छ । पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो भने दोस्रो खेलमा पनि अफगानिस्तानले नेपाललाई एक रनले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *