गुजरात टाइटान्सको चौथो शानदार जित, राजस्थान ५८ रनले पराजित


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा गुजरात टाइटान्सले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै बुधबारको खेलमा राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ । यो लगातार चौथो जितसँगै गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
पहिले ब्याटिङ गर्दै गुजरातले ६ विकेट गुमाएर २१७ रनको ठूलो स्कोर खडा गर्यो । ओपनर साई सुदर्शन चम्किए, जसले ५३ बलमा ८ चौका र ३ छक्कासहित ८२ रनको दमदार पारी खेले । साहरुख खान र जोस बटलरले समान रूपमा ३६ रन जोडे । अन्त्यतिर राहुल टेबटिया (१२ बलमा २४ रन) र रसिद खान (४ बलमा १२ रन) को आक्रामक ब्याटिङले टोलीलाई सशक्त योगफलमा पुर्यायो ।
२१८ रनको विशाल लक्ष्य पछ्याउन मैदानमा उत्रिएको राजस्थानको सुरुवात कमजोर रह्यो । सञ्जु सामसनले २८ बलमा ४१ र सिम्रन हटमायरले ३२ बलमा ५२ रन बनाए पनि अन्य ब्याट्सम्यान पूर्ण रूपमा फ्लप भए। सम्पूर्ण टोली १९.२ ओभरमा १५९ रनमै समेटियो ।
गुजरातको बलिङ आक्रमणले राम्रो समन्वय देखायो । प्रसिद्ध कृष्णले ४ ओभरमा २४ रन दिँदै ३ विकेट लिए। रसिद खान र साई किशोरले समान २-२ विकेट लिए। बलिङमा चम्किएका कृष्ण र किशोरले अहिले सम्मकै सिजनमा शानदार प्रदर्शन गरिरहेका छन् । राजस्थानका बलर तुसार देश पाण्डे र महेश थक्सेना महँगा सावित भए। दुवैले समान २-२ विकेट लिए पनि क्रमशः ५३ र ५४ रन खर्चे ।
यो जितपछि गुजरात ८ अङ्कका साथ लिगको शीर्ष स्थानमा उक्लिएको छ भने राजस्थान ४ अङ्कसहित सातौँ स्थानमा छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेकाले साई सुदर्शन ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले हालसम्म २७३ रन जोड्दै लखनउ सुपर जायन्ट्सका निकोलास पुरण (२८८ रन) पछि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थान ओगटेका छन् । बलिङतर्फ साइ किशोर र मोहम्मद सिराजले १०-१० विकेट लिइसकेका छन् भने प्रसिद्ध कृष्णले ८ विकेट लिएका छन् ।
