हङकङ टी-२०आई शृंखला

कुवेतविरुद्ध नेपालको शानदार जीत, टी-२०आईमा दिपेन्द्रको अर्को कीर्तिमान

काठमाडौं । नेपालले हङकङमा जारी टी-२०आई शृंखलामा कुवेतविरुद्ध ६ विकेटको शानदार जित हासिल गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ । कुवेतको १८६ रनको लक्ष्य नेपालले ७ बल बाँकी राख्दै ४ विकेटको क्षतिमा पूरा गर्‍यो । यो नेपालको टी-२०आईमा सर्वाधिक उच्च सफल चेज हो ।

यस अघि नेपालले मलेसियासँग १६६ रनको लक्ष्य पूरा गरेको थियो, जुन उनका लागि उत्कृष्ट उपलब्धि थियो । नेपालका लागि कुशल भुर्तेलले ८१ रनको अर्धशतक बनाउँदै शानदार प्रदर्शन गरे । उनले ५० बलमा ६ चौका र १ छक्का प्रहार गरे। साथमा आसिफ शेखले ५३ रन बनाउँदै १२७ रनको ओपनिङ साझेदारी गर्दा नेपालको जितको आधार तयार गरे । यो साझेदारी नेपालको टी-२०आई इतिहासमा सबैभन्दा ठूलो ओपनिङ साझेदारी हो ।

अर्कोतिर, नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रनको विस्फोटक पारी खेल्दै फिनिशिङ कामलाई सजिलो बनाएका थिए । उनले २ चौका र ३ छक्का प्रहार गरे। योसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक नयाँ कीर्तिमान बनाएका छन् । उनले करियरको ७६ खेलमा ६६ इनिङ्समा डक आउट नभइ खेल्दा सबैभन्दा धेरै इनिङ्समा डक आउट नगरेको कीर्तिमान कायम गरेका छन् । दीपेन्द्रले अहिलेसम्मको आफ्नो टी(२०आई करियरमा एकपटक पनि डकमा आउट भएका छैनन्, र १० खेलमा उनलाई ब्याटिङ गर्न आवश्यक पनि परेको छैन ।

दीपेन्द्रले यसअघि पनि रेकर्ड तोड्दै ९ बलमा अर्धशतक बनाउने कीर्तिमान आफ्नो नाममा दर्ता गरेका छन् । यो कीर्तिमान अझै पनि तोडिएको छैन र केवल बराबरी गर्न सकिन्छ । साथै, उनी एकै ओभरमा ६ बलमा ६ छक्का हान्ने दुर्लभ उपलब्धि पनि हासिल गरेका खेलाडीमध्ये रहेका छन् ।

कुवेतका बॉलर यासिन पटेलले १७ रन खर्चेर २ विकेट लिए, जबकि मोहम्मद सफीक र मोहम्मद असलमले १-१ विकेट लिए । कुवेतले पहिले ब्याटिङ गर्दै २० ओभरमा १८५ रन बनायो । नेपालका लागि सोमपाल कामीले ३६ रन खर्चेर ३ विकेट लिँदा नन्दन यादवले २ विकेट निकाले । कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए, जबकि बिलाल ताहिर र मिट भावसरले क्रमशः ३२ र ३५ रनको योगदान गरे ।

अब नेपालले लिग चरणको अन्तिम खेल हङकङसँग खेल्नेछ र यस जितसँगै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ भने कुवेत २ अंकसहित दोस्रो स्थानमा छ । लिग चरणको समापनपछि शीर्ष दुई टोलीबीच आइतबार फाइनल खेल हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *