३० रनमै ३ विकेट गुमाएको दिल्लीको नाटकीय कमब्याक

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बंगलोरुलाई ६ विकेटले पराजित गर्दै शानदार पुनरागमन गरेको छ ।

टस हारेर बलिङमा झरेको दिल्लीले १६४ रनको लक्ष्य पाएको थियो । ३० रनमै शीर्षक्रमका तीन विकेट गुमाएको अवस्थामा दबाबमा परेको दिल्लीले केएल राहुल र ट्रिस्टियन स्टब्सको धमाकेदार साझेदारीमा १३ बल बाँकी रहँदै १६९ रन बनाउँदै लक्ष्य सजिलै भेट्टायो ।

दिल्लीका लागि केएल राहुलले उत्कृष्ट प्रदर्शन गर्दै ५३ बलमा ९३ रनको शानदार पारी खेले । उनले सात चौका र छ छक्का प्रहार गरे । दिल्लीले कप्तान अक्षर पटेललाई १५ रनमा गुमाएपछि राहुल र स्टब्सले चौथो विकेटका लागि १११ रनको अपराजित साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्‍याए ।

ट्रिस्टियन स्टब्सले २३ बलमा ३८ रन बनाए । राहुललाई उत्कृष्ट प्रदर्शनका लागि प्लेयर अफ द म्याच घोषित गरिएको छ ।

यसअघि ब्याटिङ गरेको बंगलोरुको सुरुवात विस्फोटक भए पनि टोलीले लय कायम राख्न सकेन । ओपनर फिल साल्टले १७ बलमा ३७ रन जोडे भने सातौँ क्रममा आएका टिम डेभिडले पनि अविजित ३७ रन बनाए ।
कप्तान रजत पाटिदरले २५ र विराट कोहलीले २२ रन बनाएका थिए ।

दिल्लीका स्पिनर कुलदीप यादव र विपराज नेगीले उत्कृष्ट बलिङ गर्दै बंगलोरुलाई रोक्न मुख्य भूमिका खेले । दुबैले समान दुई विकेट लिए । यादवले चार ओभरमा मात्र १७ रन खर्चिए भने नेगीले १८ रनमा दुई विकेट लिए । यता कप्तान अक्षर पटेल भने महँगो सावित भए- चार ओभरमा ५२ रन खर्चे ।

यो जितसँगै दिल्ली क्यापिटल्स आठ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । समान चार जित हात पारेको गुजरात टाइटान्स रनरेटका आधारमा दोस्रो स्थानमा पुगेको छ । तेस्रो स्थानमा रहेको आरसिबीको ६ अंक छ, पन्जाब र लखनउ क्रमशः चौथो र पाँचौँ स्थानमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *