इच्छाराज समूह ५ दिन हिरासतमा, सम्पत्ति शुद्धीकरणको छानबिन पनि सँगसँगै

काठमाडौँ । सिभिल समूहका अध्यक्ष एवम् पूर्वसांसद इच्छाराज तामाङसहित सोमबार पक्राउ परेका १२ जना कम्तीमा ५ दिन  हिरासतमा रहने भएका छन् ।

उनीहरूलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई जिल्ला अदालत काठमाडौँले अनुमति दिएको हो । ठगी मुद्दामा सोमबार काठमाडौँको सुन्धाराबाट पक्राउ परेका उनीहरूलाई हिरासतमा राख्ने अनुमतिका लागि मंगलबार सीआईबीले काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो ।

‘अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ,’ सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले मकालु खबरसँग भने, ‘५ दिनपछि पनि अनुसन्धान सकिएन भने थप अनुसन्धानका लागि पुनः म्याद थप्न अदालतलाई अनुरोध गरिनेछ ।’

सिभिल ग्रुपले सञ्चालन गरेको सिभिल सहकारी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको बचत ठगी गरेको भन्दै तामाङसहित विरुद्ध सीआइबीमा उजुरी परेको थियो । सीआईबीले उनीहरूलाई पक्राउ गरेपछि उनीहरूविरुद्ध ठगीको उजुरी दिनेहरूसमेत बढेर ७५ जनाबाट १३७ जना पुगेको उनले बताए । यी उजुरीमार्फत् ७० करोड ८७ लाखभन्दा बढी ठगी भएको दाबी परिसकेको महतोले जानकारी दिए ।

‘उजुरी अझै बढ्ने देखिएको छ,’ उनले भने । सहकारीमा २ हजार ६ सय ९० बचतकर्ता रहेको सहकारीले झण्डै ७ अर्ब रुपैयाँभन्दा बढी बचत दुरुपयोग गरेको आरोप लागेको छ ।

यो पनि : इच्छाराज समूहविरुद्ध उजुरी बढ्दै : हालसम्म १३७ उजुरी, ७० करोड ठगी गरेको दाबी

रकम ठगिएको थाहा पाएपछि बचतकर्ताहरूले सहकारी बोर्ड, प्रहरी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायतका सरोकारवाला सबैजसो ठाउँमा उजुरी हालेका थिए । तर, राजनीतिक प्रभावका आधारमा उक्त समूह अनुसन्धान तथा कारबाहीबाट बच्दै आएको थियो ।
तामाङ एमालेका तर्फबाट सांसद बन्नुका साथै एमालेभित्र बलियो राजनीतिक पहुँच राख्ने व्यक्तिका रुपमा चिनिन्छन् ।

सीआईबीले सोमबार साँझ सिभिल ग्रुपका अध्यक्ष तामाङ, सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ, विजय शाहसहित १२ जनालाई सुन्धारास्थित कार्यालयबाटै पक्राउ गरेपछि भने ठगीका उजुरी थपिँदै गएका हुन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत गर्दैछ अनुसन्धान

ठगीमा परेकाहरूबाट उजुरी परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत इच्छाराजको सम्पत्तिको स्रोतबारे अध्ययन सुरु गरेको थियो । ‘इच्छाराजको ठगीबारे विभागमा धेरै उजुरी आउन थालेपछि विभागले सम्पत्ति रोक्का गरी अनुसन्धान गरिरहेको थियो,’ विभागका एक अधिकारीले भने, ‘प्रहरीले पक्राउ गरेपछि भने यो केस हाइलाइट हुन पुग्यो । विभागले अनुसन्धानमा रहेको विषय सार्वजनिक नगर्ने भएकाले यो केस बाहिर आएको थिएन ।’

ठगीसहित सम्पत्ति शुद्धीकरण विभागले ३२ किसिमका अपराधबाट आर्जित सम्पत्तिबारे अनुसन्धान गर्न मिल्ने र त्यसैअनुसार विभागले अनुसन्धान गरिरहेको ती अधिकारीले बताए ।

‘सीआईबीको अनुसन्धानबाट थप अपराध भएको पाइयो भने पनि अपराध गरेर कमाएको सम्पत्तिको मुद्दा हामीले हेर्न मिल्छ,’ ती अधिकारीले भने ।

सिभिल बैंकको अध्यक्ष पद जान सक्ने

इच्छाराज तामाङ सिभिल बैंकका समेत अध्यक्ष हुन् । बैंकका अध्यक्ष गठी मुद्दामा परेपछि अन्य सञ्चालकले भने नैतिकताका आधारमा अनुसन्धान अवधिभरका लागि इच्छाराजले सञ्चालक समितिबाट राजीनामा दिनुपर्ने बताएको बैंक स्रोतले जनाएको छ । ‘अध्यक्ष अहिले नै दोषी करार भएका होइनन्,’ बैंक स्रोतले भन्यो, ‘अध्यक्षको विषयमा केही दिनमा बोर्डले नयाँ निर्णय गर्न सक्छ ।’

सिभिल समूहका संस्थापक ईन्जिनियर इच्छाराज तामाङ नेृतत्वको सिभिल समूहले सिभिल बैंक, सिभिल सहकारी, सिभिल होम्स, सिभिल मल, सिभिल अपार्टमेन्ट, सिभिल सहकारीजस्ता विभिन्न परियोजना अघि बढाइरहेको थियो । सुरुमा रियलस्टेट क्षेत्रबाट उदाएको यो समूहले केही वर्षयता आर्थिक संकटको सामना गर्दै आएको थियो ।

बचतकर्ताले आफ्नो रकम माग्न थालेपछि सिभिल सहकारीका सञ्चालक इच्छाराजलगायतका व्यक्तिहरू उक्त रकम फिर्ता नगरी राजनीतिक पहुँचका आधारमा बच्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *