एन आई सी एशिया लघुवित्तको दोस्रो साधारण सभा सम्पन्न
मंसिर २४, काठमाडाैँ । एन आई सी एशिया बैंक लिमिटेडकोे सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. को दोस्रो साधारण सभा सोमबार सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष अर्जुन राज खनियाको अध्यक्षतामा यस बैंकको दोस्रो साधारण सभा ट्रेड टावर थापाथली, काठमाडौंमा सम्पन्न भएको हो ।
साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित आ.व.२०७५/७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात सर्वसाधारणलाई प्राथमिक शेयर (IPO) निष्काशन गर्ने निर्णय गरेको छ ।
साथै मंसिर २३ गते बसेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको ३९ औं सञ्चालक समितिको बैठकले कपिल ढकाललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।
ढकालले हिजै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक वीरेन्द्र दत्त अवस्थी, एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एन आई सी एशिया लघुवित्तका वित्तीय संस्थाका निवर्तमान अध्यक्ष अर्जुन राज खनिया लगायतको उपस्थिति रहेको थियो ।