विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो, सबैभन्दा धेरै इटालीमा

चैत्र १३, काठमाडौं । कोरोना भाइरस संक्रमण विश्वव्यापी महामारीबाट मृत्यु हुनेको संख्या २१ हजार बढि भएको छ । चार महिना अघि चीनको उहानबाट शुरु भएको कोभिड–१९ अर्थात नोभेल कोरोना भाइरसले मृत्यु हुनेको संख्या २१ हजार २ सय नाघेको छ । 

गएको २४ घण्टामा सबैभन्दा बढी इटालीमा ६ सय ८३ र स्पेनमा ६५६ जनाको मृत्यु भएको छ । फ्रान्समा २३१ र अमेरिकामा १५६ जनाको मृत्यु थपिएको छ । 

चीनमा केही दिन यता नियन्त्रणमा आएको कोरोनाले पुनः नयाँ मृतक थपिएका छन् । पछिल्ला दिनमा चीनमा ६ जनाको मृत्यु भएको छ । यससँगै चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ८७ पुगेको छ । जहाँ सबैभन्दा धेरै ८१ हजार २ सय ८५ जना संक्रमित छन् । 

कोरोना संक्रमणको कारण सबैभन्दा बढि इटालीमा मर्नेहरुको संख्या रहेको छ । इटालीले समयमै कोरोना संक्रमण जोखिम न्युनिकरण उपाय अलम्बन गर्न नसक्दा स्थिति भयावह भएको छ । इटालीमा अहिलेसम्म ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ । ५ हजार २ सय १० जना नयाँ संक्रमित थपिएका छन् । 

यता स्पेनमा पनि कोरोना भाइरसबाट मृत्युहुनेको संख्या बढ्दो छ । स्पेन धेरै मृत्यु हुने देशहरुको सूचीमा दोस्रो स्थानमा छ । स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । यो चीनको भन्दा ३ सय ६० ले बढी हो । 

यसैगरी अमेरिकामा १० हजार ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् जहाँ ९ सय ३५ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा पनि मृतकको संख्या अझै बढ्ने अनुमान छ ।  जर्मनी, इरान, फ्रान्स, यूके, नेदरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, क्यानडामा नयाँ संक्रमितहरुको संख्या बढ्दो छ ।  

छिमेकी मुलुक भारतमा बुधबारसम्ममा कोरोना संक्रमितको संख्या ६३१ पुगेको छ । भारतमा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिने लकडाउन घोषणा गरेका छन् । हिजोसम्म भारतमा थप ९५ जना नयाँ संक्रमित भेटिएका छन् । भारतका २५ राज्यमा कोरोना भाइरस संक्रमण फैलिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।   

नेपालमा तीनजनामा संक्रमण देखिएको छ । जसमध्ये एक जना निको भइसकेका छन् । दुई जनालाई आइसोलेसनमा राखिएको छ । सरकारले उच्च सतर्कता अपनाएपनि देशका सबै क्षेत्रमा प्रयोगशाखा नहुँदा कोरोना संक्रमितको पहिचान हुन ढिलाई भइरहेको छ ।   

सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले साताब्यापी लकडाउन परिस्थिति हेरेर बढ्न सक्ने बताएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *