‘लकडाउन’ गरेसँगै पदयात्रामा गएका ५ सय विदेशी पर्यटक अलपत्र

चैत्र १३, काठमाडौं । कोरोना भाइरस संक्रमणका विरुद्ध सरकारले ‘लकडाउन’ गरेसँगै विभिन्न क्षेत्रमा पदयात्रामा गएका सयौँ विदेशी पर्यटकहरू अलपत्र परेका छन् । सरकारले एक साताका लागि लकडाउन गरेसँगै पदयात्रामा गएका ५ सयभन्दा बढी पर्यटक अलपत्र परेका छन् ।   

सगरमाथा, खुम्बु, अन्नपूर्ण, हुम्ला, डोल्पा, मनास्लु क्षेत्रमा सयौँ पर्यटक अलपत्र परेका छन् । उनीहरु आउन सक्ने अवस्था नदेखिएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले जनाएको छ । खुम्बु क्षेत्रमा १ सय विदेशी पर्यटकहरू पदयात्रामा गएका र उनीहरू आउन नसकेको टानका अध्यक्ष खुमबहादुर सुवेदीले बताए । उनका अनुसार सरकारलाई उद्धारको व्यवस्था मिलाउन आग्रह गरिए पनि हालसम्म उद्धार सकिरहेको छैन । 

यता मनास्लु क्षेत्रमा ३० जना पर्यटक रोकिएका छन् । अन्नपूर्ण क्षेत्रमा पनि १ सय हाराहारी पर्यटक रोकिएको टानको अनुमान छ । हुम्ला र डोल्पामा १५ देखि २५ जना पर्यटक, मनाङ, मुस्ताङ क्षेत्रमा पनि एक दर्जनभन्दा बढी पर्यटक रोकिएका छन् । खुम्बु क्षेत्रमा होटल रेस्टुराँहरूसमेत बन्द हुन थालेकाले पर्यटकहरू झनै समस्या पर्न थालेका टानका अध्यक्ष सुवेदीले जनाए ।   

गृह मन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा हिजो बुधबार लुक्ला र डोल्पाबाट ८ जना पर्यटकको उद्धार गरिएको थियो । विमानस्थलका अनुसार दुई हेलिकोप्टरबाट डोल्पाबाट ४ जना जर्मनी पर्यटक र लुक्लाबाट ४ जना रुसी नागरिकको उद्धार गरिएको हो । 

टानका अध्यक्ष सुवेदीले कुन–कुन स्थानमा कति पर्यटक रोकिएका छन् तथ्यांक संकलन गर्ने काम भइरहेको बताए । सुवेदीले भने, ‘तथ्यांक संकलनसँगै उद्धार कार्यसमेत सुरु भइसकेको छ ।’   

सरकारले कोरोना भाइरस परीक्षणका लागि राजधानीबाहिर नमुनाका रूपमा संकलन भएको ‘स्वाब’लाई नेपाल वायुसेवा निगमको जहाज चार्टर गरेर काठमाडौं ल्याउने ब्यवस्था गरेको छ ।  सरकारले निगमको ट्विनटर जहाज चार्टर गरेर विराटनगर र नेपालन्जमा संकलन भएको ‘स्वाब’ काठमाडौं ल्याउने भएको हो ।   

स्वाब परीक्षण गर्न टेकु नै ल्याउनुपर्ने भएकाले आज बिहीबार नै जहाज चार्टर गरिनेछ । स्वास्थ्य मन्त्रालयले अस्पतालहरूसँग समन्वय गरेर संकलित स्वाब विराटनगर र नेपालगन्ज पठाउन आग्रह गरिसकेको छ ।   

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले उच्चस्तरीय समितिमा छलफल भइसकेकाले जहाज चार्टर गर्न सबै व्यवस्था मिलाइएको बताए । सातै प्रदेशमा सयौँ नमुना संकलन भएका छन् । तर, लकडाउनका कारण काठमाडौैं पठाउन नपाएको गुनासो आएकाले निगमको जहाजबाट ल्याइने निर्णय भइसकेको पोखरेलले बताए ।   

निगमकी प्रवक्ता अर्चना खड्काले सरकारको निर्देशनमा आफूहरू पनि तयारी अवस्थामा रहेको बताइन् । ट्विनटर र एमए ६० दुवै जहाज चार्टरका लागि तयारी अवस्थामा राखिएको छ । 

यता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चार दिनदेखि नेपाली मूलका एक बेलायती नागरिक अलपत्र परेका छन् । निगमको जहाजमार्फत शनिबार हङकङबाट नेपाल आएका ती नागरिकलाई अध्यागमनले विदेशी राहदानी भएकाले प्रवेश अनुमतिमा रोक लगाएपछि अलपत्र परेका हुन् ।   

अध्यागमन विभागका विमानस्थल प्रमुख सागर आचार्यले विदेशी नागरिता पासपोर्ट भएकालाई प्रवेशमा रोक लगाइएको बताए । उनका अनुसार निगमले ल्याएकाले ती नागरिकलाई उसैले फिर्ता पठाउनुपर्ने दायित्व हुन्छ । सबै उडान रोकिएकाले डिपोर्ट सम्भव नभएपछि निगमले नै खाने र बस्ने व्यवस्थासहित राखेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *