लकडाउनमा पनि विवाह, अनलाइनबाटै पण्डितले पढे मन्त्र !

चैत्र १६, नयाँ दिल्ली । विश्वभर यतिबेला कोरोना भाइरस (कोभिड १९) को महामारी छ । नेपालसहित कयौँ देश लकडाउनमा छन् ।  

भारतमा पनि यतिबेला लकडाउन छ। यस्तो समयमा वैवाहिक समारोह, सभा, कार्यक्रम गर्न प्रतिबन्ध छ। घरबाहिर निस्कन समेत कसैलाई छुट छैन।  

यस्तो अवस्थामा विवाह कसरी हुन सक्ला ? किनभने सामान्यतया विवाहका लागि भोज–भतेर आयोजना गर्ने र आफ्ना इष्टमित्रहरू बोलाउने प्रचलन हुन्छ। यस्तो अवस्थामा के विवाह सम्भव छ त ? तर यो सम्भव भएको छ । भारतको विहार र उत्तर प्रदेश राज्यका केटाकेटीबीच अनलाइनबाटै विवाह भएको छ।  

भारतका मुस्लिम समुदायमा विवाहको सिजन हो यो । पटनाको फूलवारी शरीफमा सदब नसरिन बेहुली बनेकी थिइन् भने उत्तर प्रदेशको साहिबाबादमा दानिश रजा बेहुला बने। उनीहरुले आफू बसेकै ठाउँबाट (अनलाइन) विवाह गरे। 

सदबका पिता सलाउद्दिनले भने, ‘वैवाहिक कार्यक्रम २४ मार्चमा थियो। कोरोना भाइरसका कारण सबैतिर लकडाउनको अवस्था थियो। यस्तो बेला बारात (जन्ती) आउन सक्ने भएन। र, समारोह गरेर विवाह गर्ने सम्भावना पनि रहेन। त्यसैले हामीले अनलाइनबाट नै सबै वैवाहिक प्रक्रिया (रितिरिवाज) अनुसार विवाह गर्ने निधो गर्‍यौं ।’ 

सलाउद्दिनका अनुसार अनलाइन विवाहका लागि उनले मौलवी (विवाह गराउने पुजारी) लाई मात्र घरमा लिएर आउनु परेको थियो। यसबाहेक सबै घरका सदस्य नै थिए। 

उनले भने, ‘सामुन्ने एउटा स्क्रीन राखिदियौं । जसमा बेहुला देखिएका थिए र यता बेहुली बसेकी थिइन्। पण्डितले भिडियो कन्फ्रेन्सिंग गरेर विवाह गरिदिए। जब लकडाउन सकिन्छ तब बेहुली बेहुलासँग घर जानेछिन् ।’ –एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *