प्रसिद्धी भन्छिन्– ‘अस्पताल बस्दै गर्दा धेरै घृणा र नकारात्मक कुराहरु सुन्नुपर्यो’

काठमाडाैं । नेपालकी दाेस्राे कोरोना भाइरस (कोभिड १९) सक्रमित युवती हुन् प्रसिद्धि श्रेष्ठ । गत चैत ९ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी प्रसिद्धि २७ दिनको उपचारपछि वैशाख ६ गते डिस्चार्ज भइन् ।

पूर्ण रुपमा स्वस्थ भएर नै उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । युनिसेफले सार्वजनिक गरेको भिडियोमा उनले कोरोना पुष्टि भएर अस्पताल बस्दै गर्दा धेरै घृणा र नकारात्मक कुराहरु सुन्नु परेको स्मरण गरेकी छिन् ।

भिडियोमा उनले भनेकी छिन्– ‘काेराेना भाइरस संक्रमण पुष्टि भएर अस्पताल बस्दै गर्दा मैले धेरै घृणा र नकारात्मक कुराहरू सुन्नुपर्याे । सर्वसाधारणले मात्रै होइन, मिडियामा पनि मेरोबारे टिप्पणी भयो । २७ दिन अस्पताल बसेपछि मेरो कोरोना टेष्ट नेगेटिभ देखिएको छ र म घर फर्किएकी छु । मलाई अब ठिक भइसकेको छ । म स्वस्थ पनि छु ।’

उनले आफूले कसैलाई पनि भाइरस नसारेको स्पष्ट पारेकी छिन् । ‘मैले थाहा पाएसम्म यो भाइरस न मैले परिवारका कुनै सदस्यलाई सारेकी छु, न अरुलाई नै । किनभने म विदेशबाट आउनासाथै सेल्फ आइसोलेसनमा बसेकी थिएँ । सेल्फ आइसोलेसनमा बस्दा मैले मास्क, चस्मा र पञ्जा लगाएकी थिएँ’, भिडियोमा उनले भनेकी छिन् ।

सेल्फ आइसोलेसन र सामाजिक दुरीले आफू र आफू वरपरका मानिसहरुलाई पनि भाइरस संक्रमण हुनबाट जोगाउने भन्दै उनले कोरोनाबाट जोगिने उपायहरुको सक्दो पालना गर्न आग्रह पनि गरेकी छिन् । ‘एक एक जनाले आफूलाई जोगाउन गरेको प्रयासले अरुलाई पनि जोगाउँछ’, उनले भनेकी छिन् ।

यसअघि उनले डिस्चार्जका क्रममा अस्पताल भर्ना भएको एक–दुई दिनपछि मात्र कोभिड १९ को लक्षण देखिन थालेको बताएकी थिइन् । लक्षणमा श्वासप्रश्वासमा समस्या, खोकी लाग्ने, थकाई बढी लाग्ने र पेट दुख्ने समस्या देखिएको उनको भनाइ थियो ।

‘हरेक दिन नर्स र चिकित्सकहरुले आत्मबल बढाउनुपर्छ केही हुँदैन भन्नुहुन्थ्यो । यसको लक्षण चाहिँ मनलाई अत्याउने खाले नै हुँदो रहेछ । सबै कोभिड १९ देखिनु भएकाहरुलाई के अनुरोध गर्छु भने लक्षण बेला बेला डरलाग्दो देखिए पनि आत्मबल बढाउनूहोला’, डिस्चार्जको समयमा उनले भनेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *