‘राहत बाँड्दा कसैले फोटो छापेन, खाना खाएको समाचार बन्यो’

काठमाडौं । सञ्चार माध्यमहरुमा ‘भोज खाएको’ समाचार प्रकाशित भएपछि अभिनेता तथा हाँस्य कलाकार दीपकराज गिरीले गुनासो पोखेका छन् । आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले राहत बाँडेको फोटो कुनै मिडियाले नछापेको र खाना खाएको समाचार बनेको भन्दै गुनासो पोखेका हुन् ।

उनले फेसबुकमा लेखका छन्– ‘लगभग १०–१२ दिन राहत बॉड्न हिँडियो होला, त्यो फोटो कसैले छापेन, राहत बॉढेपछि बसेर खाना खाएको र हामीले नै खिचेर हालेको फोटोलाई आधार बनाएर मसलायुक्त समाचार छापियो त्यस्को लागि धन्यवाद छ केहि फिल्मी पत्रकार साथीहरुलाई ।’

कलाकार गिरीले पत्रकारले कुरै प्रष्टसँग नबुझि समाचार लेखेको आरोप लगाउँदै त्यसको खण्डन समेत गरेका छन् । उनले भोज शनिबार नभइ सोमबार भएको दाबी गरेका छन् ।

उनले यसरी गरेका छन् ‘भोज समाचार’ को व्याख्याः

‘‘कुरा हो सोमबारको, जति बेला काठमाडौंमा लकडाउन केहि खुकुलो भएको थियो । सडकमा मज्जाले गाडीहरु गुड्न थालेका थिए । अनि हामी चलचित्रकर्मीहरू अनुरागजीले बितरण गरेको एक राहत कार्यक्रम मा सहभागी भयौँ । दिनभर भोकाएका थियौँ । पसलहरू बन्द थिए । अतः अनुरागजी कहाँ नै खाना खाना जाने कुरा भयो ।

रविजीलाई मैले कल गरेँ, उहाँ आउनुभयो । सामान्य भोजन गर्यौँ । न कुनै तडक भडक गर्यौँ । न त्यो कुनै पार्टी नै थियो । जहाँसम्म रबी लामिछाने जी को कुरा छ, उहॉ लाखौँ नेपालीहरूको आशाको केन्द्र हो । अतः उहॉमाथिको प्रहार गलत छ र त्यो आरोपमा एक रत्ती सत्यता पनि छैन ।

त्यो दिन पनि मैले कल गर्दा उहॉ आउन चाहनु भएको थिएन । एक त धेरै लामो समयदेखि हामि भेटेका थिएनौँ । मैले नै उहॉलाई यो परिस्थितिमा एक अर्कासँग कसरी हातेमालो गरेर अघि बढ्न सकिन्छ, छलफल पनि गरौँ, लकडाउन पनि अब खुकुलो हुने क्रममा छ भनेपछि उहॉ आउनुभयो ।

सामान्य खाना खायौँ । थुप्रै राम्रा योजनाको बारेमा छलफल पनि गर्यौँ । त्यहिबेला ३४ जना नयॉ संक्रमित थपिएको समाचार आयो, रबिजीले नै भन्नु भयो, ‘ओहो अबस्था फेरीयो अब छुट्टिनु पर्छ । अब हामि भिडियो च्याट मैं कुरा गरौला’, उहाँ निस्कनु भयो । हामी पनि घर आयौँ । मसला नभएको कथा चाहिँ यहि हो । तैपनि हामिबाट एउटा गल्ति चाहि भयो । सडकमा खाना बॉडेको फोटो त फेसबुकमा हाल्नु हुँदैन भन्ने हेक्का थियो तर साथीहरूले सामान्य खाना खाएको फोटो भने हाल्न पुग्यौँ ।

लखर लखर हिँडेर मदिरा पार्टी गरेर, नॉचगान गरेर उच्छृंखलता प्रस्तुत गरेको अवस्था पनि होइन । राम्रो काम गरेर आएर खाना खाएको फोटो मात्रै हो । ब्याख्या आ–आफ्नै ढंगले गर्न सबैलाई छुट छ । जय नेपाल !’’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *