लकडाउन: सवारी पासको दुरूपयोग गरी लागुऔषधको धन्दा

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । लकडाउनमा सर्वसाधारण घरभित्रै बसिरहेका बेला लागुऔषध कारोबारीले भने सडकमा अवैध धन्दा चलाएको पाइएको छ । देशमा लकडाउन भएकै बेला तस्करहरुले सवारी पास बनाई अवैध रुपमा लागुऔषध ओसारपोसार सुरू गरेकाे सुनसरीको बराहक्षेत्र वडा नं ८ रामधुनीबाट तस्करहरु पक्राउ परेसँगै यसबारे खुलासा भएको हो ।

सशस्त्र प्रहरीको गस्ती टोलीले गत मंगलबार बिहान ४ बजे जरुरी काममा दौडिएको जस्तो देखिने गरी हुइँकिएको मोटरसाइकलबाट भारी मात्रामा लागुऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी चतरा पोस्टका निरीक्षक अशोक न्यौपानेको गस्ती टोलीले बराहक्षेत्र वडा ८ रामधुनी जंगल जाने बाटोमा स १० प ४६९२ नम्बरको अपाचे मोटरसाइकलबाट लागुऔषध बरामद गरेको जानकारी दिइएको छ ।

निरीक्षक न्यौपानेका अनुसार बरामद लागुऔषधमा डाइलाइस डीसी १.० एमएम ६० बोटल, स्पास्मो प्रोक्सीवन (एसपी) ६० पत्ता, लिगफीक इञ्जेक्सन १५० सिसि, डाइजेलेब इञ्जेक्सन १८० सिसि, प्रोमेथाजिन हाइड्रोक्लोराइड इञ्जेक्सन आईपी १५० सिसि, फेन्सिडिल न्यु १०० एम एमको २ बोतल रहेको छ । लागुऔषध राखिएको ब्यागमा मोबाइल, घडी र नेपाली ११ हजार ८ सय १० रुपया पनि फेला पारेको छ ।

गस्ती टोलीले मोटरसाइकल रोक्दा चालकले मोसाइकल र झोला छाेडेर भाग्ने प्रयास गरेको अवस्थामा कोशी गाउँपालिका वडा १ का रोशन झालाई पक्राउ गरेको छ । पक्राउ परेका झा र बरामद लागुऔषध इलाका प्रहरीलाई खबर गरि प्रहरी निरीक्षक शरण दाहालको टोलीलाई बुझाइएको न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *