कोभिड-१९ बाट मृत्यु हुने महिला : बालाजुमा तरकारी पसल चलाउँथिन्, टोखा बस्थिन्

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएकी पहिलो महिला काठमाडौंको टोखा नगरपालिका–९ मा बस्दै आएकी थिइन् । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय ती महिलाको काभ्रेको धुलिखेल अस्पताल लैजाँदै गर्दा बिहीबार मृत्यु भएको थियो ।

पारिवारीक स्रोतका अनुसार उनी काठमाडौंको टोखा नगरपालिका–९ मा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् भने बालाजुमा तरकारी पसल चलाउँथिन् । केही समय अघिसम्म बालाजुमा तरकारी पसल चलाएकी उनीले गर्भवती भएर गाह्रो हुन थालेपछि तरकारी पसल छोडेकी थिइन् ।

धुलिखेल अस्पतालमाबाट अन्त्येष्टिका लागि पशुपति ल्याइएको महिलाको शव / तस्वीर : इलिट जोशी

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाकी उपप्रमुख सुशिला पाख्रिनका अनुसार ११ चैतमा लकडाउन भएपछि उनले वडा कार्यालयबाट सरकारी राहत पनि लिएकी थिइन् । उनका श्रीमान नेपाली सेनाको जागिर छाडेर अहिले सेक्युरेटी गार्डको काम गरिहेको पाइएको पनि उपप्रमुख पाख्रिनले बताइन् ।

२९ वर्षकी ती महिलाले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माउनको लागि भर्ना भएकी थिइन् । उनले २४ गते बच्चालाई जन्म दिएकी थिइन् । शिक्षण अस्पतालबाट २५ गते डिस्चार्ज भएकी उनलाई बाह्रबिसे पुगेपछि स्वास्थ्यमा समस्या देखिएको थियो ।

महिलाको मृत्यु कोरोनाका कारण भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल लैजाँदै गर्दा बिहीबार उनको मृत्यु भएको थियो ।

मन्त्रालयले नेपालमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । मृतक महिलाका एक छोरा, श्रीमान र सासु छन् । भर्खरै जन्मिएको बच्चा, उनका श्रीमान र सासु भने अहिले धुलिखेल अस्पतालको आइसोलेसनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *