‘ती महिलालाई शिक्षण अस्पताल आउनु अगावै कोरोना भएको हुनसक्छ’

काठमाडौं । हिजो शनिबार कोभिड-१९ बाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षिय सुत्केरी महिलाको शिक्षण अस्पताल जानुपूर्व नै कोरोना संक्रमण भएको हुनसक्ने जनस्वास्थ्य विद् डा. रवीन्द्र पाण्डेले बताएका छन् ।

मृतक महिलाका श्रीमानले आफ्नी श्रीमतीलाई त्रिवि शिक्षण अस्पतालबाटै कोरोना सरेको हुन सक्ने बताउँदा डा. पाण्डेले भने उनको हिस्ट्री हेर्दा उनलाई शिक्षण अस्पताल ल्याउनु पूर्वनै कोरोना भएको हुन सक्ने जिकिर गरेका छन् । ‘उनलाई शिक्षण अस्पताल जानुपूर्व कोरोना संक्रमण भएको हुनसक्छ । शिक्षण अस्पतालबाट सरेको भए सरेको ८-१० दिनमै मृत्यु हुने थिएन ।’ डा. पाण्डे भन्छन् ।

उनले ती महिलाको सेप्टीसेमियाबाट मृत्यु भएको भए पिसिआर पोजिटिभ नदेखिने पनि बताए । ‘सेप्टीसेमियाबाट मृत्यु भएको भए पिसिआर पोजिटिभ देखिने थिएन, सामान्यतया संक्रमण भएको ३–६ हप्तामा मृत्यु हुन्छ । उनलाई स्थानीय रुपमा पहिले नै लक्षणविहिन कोरोना संक्रमण भएको हुनसक्छ ।’ डा. पाण्डेको अनुमान छ ।

कोरोना संक्रमण फैलिएको यो समयमा शिक्षण अस्पतालले प्रसुती गराउने बिरामीलाई पिसिआर परीक्षण गरेको भए उनलाई प्रसव गराएर आइसीयुमा राख्ने अवसर मिल्दथ्यो भन्दै उनले शिक्षण अस्पतालले त्यतातर्फ नसोचेको पनि बताएका छन् । ‘गर्भवती तथा सुत्केरीलाई जोखिम बर्ग मानिन्छ । यो अवस्थामा उनलाई स्वास्थ्य सुबिधा भएको ठाउँबाट गाउँमा नपुर्याएको भए उपचारको अवसर हुन्थ्यो ।’

अब अस्पतालहरुले कोरोना संक्रमण हाम्रो समाजमा भित्रभित्र फैलिरहेकोले अब सर्जरी गर्ने तथा प्रसव गराउने बिषयमा पहिले पिसिआर टेस्ट गर्नु अनिबार्य भएको उनको धारणा छ । ‘यसो गर्दा बिरामी, बिरामीको स्याहार गर्ने व्यक्तिहरु तथा स्वास्थ्यकर्मीलाई जोखिम हुँदैन ।’ उनले भने ।

अस्पतालबाट संक्रमण सर्ने सम्भावना अध्ययन गर्नु र हरेक अस्पताललाई संक्रमणरहित बनाउनु अपरिहार्य भएको छ ।

शनिबार धुलिखेल अस्पताल नपुग्दै मृत्यु भएकी सिन्धुपाल्चोककी ति महिला टोखामा बस्थिन । प्रसव गराउन उनी बैशाख २३ गते शिक्षण अस्पताल गएकी थिइन् । २४ गते सामान्य अबस्थामा डिस्चार्ज भएकी उनी २५ गते बाह्रबिसे गएकी थिइन् । त्यहाँ उनी बिरामी भएपछि स्थानीय अस्पतालमा उपचार गराइन ।

उच्च ज्वरो, खोकी तथा सास फेर्न गाह्रो भएकी उनलाई स्थानीय स्वास्थ्य संस्थाबाट धुलिखेल अस्पताल पुर्याउँदै उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *