मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

बलात्कारको प्रतिकारमा महिलाको अपेक्षित भूमिका

बलात्कार जति घृणित छ पीडित महिलाको पीडा त्यस भन्दा बढी रहेको कतैबाट नैतिक आधारमा इन्कारी नहोला भन्न सकिन्छ । नयाँ नेपालमा मुलुकी ऐन विस्थापित गरी परिमार्जन सहितको विस्तृतमा सजायको प्रावधान राखिनाले मुलुकी संहिता २०७४को संस्करणले अपराधिक कर्तुतहरु हतोत्साहित हुने लख गरे अनुरुप भए नभएको यकिन खुलस्त गर्न अझ प्रतिक्षाको विषय हुन सक्दछ । कानुनी राज्य भएको कुनै पनि मुलुकमा सभ्य समाजले बलात्कारको घोर निन्दा गर्दछ र कठोर दण्डविधानका न्यायिक व्यवस्था गरेको हुन्छ ।

दिनानुदिन बलात्कारका घटना सावर्जनिक हुनुले अराजक मानसिकताको दम्भ बढेको प्रष्ट चित्रण गर्दछ । नेपालको सन्दर्भमा आफ्नै माटो, हावापानी सुहाउँदो धर्म, संस्कृति, परम्परा, अन्तर्राष्ट्रिय अभ्यास तथा संयुक्त राष्ट्रसंघको मापदण्डदेखि मानवाधिकारका आधारहरुको आड लिएर बनेको नेपालको संविधानको अधीनमा समेत कस्ता कारणहरुले जघन्य अपराध गर्न दुष्कर्मीको दुस्साहस परास्त भएन ? संवेदना विहीन मानवताशून्य बन्नमा आदर्शको प्रतिरक्षा गर्न नागरिकको पक्षमा राज्यको चूक कहाँ भयो ? राज्यसत्ताको संयन्त्रहरुको प्रभावकारिता फितलो र निष्प्रभावी लाचार भएकै हुन् भने कारकहरुको पहिचान र निराकरण कसरी गर्न सकिन्छ विचारणीय हुन आउँछ ।

शासकीय प्रणाली र कानुनी संरचनाको मर्म सबै राष्ट्रहरुमा आफनै मौलिकताको ढाँचामा परिलक्षित भएका हुन्छन् । कानुनी भाषामा कमन ल सिस्टम र सिभिल ल सिस्टम भएका मुलुक कहीँ पनि बलात्कारीलाई नरम दृष्टिकोण पाइँदैन । लोकतान्त्रिक परिपाटीका अमेरिका र भारतमा समेत बलात्कारीलाई फाँसी अनौठो मानिँदैन भने अरु व्यवस्थामा सावर्जनिक स्थलमा उर्दी जारी गरी उत्सुक्ताकासाथ हेरी बसेका वृहत लोकसमाजको उपस्थितिमा एक समारोहका बीच उत्सव जसरी गोली वर्षाएर वा जल्लाद हस्ते तरबारले शिरच्छेदन अथवा झुण्डाएर मृत्युदण्ड दिने प्रचलन आज पर्यन्त निर्वाध चलि आएको छ ।

कारावासमा सजाय भुक्तान गरी रहेका कैदीहरुसँग निष्पक्ष राय लिनेक्रममा कतिपय अपराधीहरु पश्चाताप गर्न कता हो, फेरी फर्केर गई विगतको अधुरो हिसाब पुरा गर्ने दृढता पोख्न लजाउँदैनन् । अर्थात पर्खालरुपी कैदले बदलाव ल्याउनु भन्दा अझ चर्को उदण्डताको तृष्णा बढाएको हुन्छ । आत्मग्लानी र हिनताबोध शव्दकोषमा थन्किएको पाउनु आम नागरिकका लागि निःसन्देह पीडादायी हुन्छ । अर्को शव्दमा विद्यमान सजाय पर्याप्त नरहेको प्रष्टाउँदछ । बलात्कारका निकृष्ट उदाहरणहरुमा पवित्र नाताको आवरणमा हाडनाता करणीका समाचार पढ्न र सुन्न नसकिने हद नाघेर पशु आचरण गर्नेहरुको चर्तिकलाको बहाना आश्चर्य र आक्रोश जगाउने खालका हुन्छन् । आमा–छोरा, बाबु–छोरी, दिदी–भाई, दाजु–बहिनी, जस्ता दिव्य ईश्वरीय नातामा कालो कलंक पोत्ने पातकीहरुको भनाइमा उनीहरु अरु धर्ममा व्यभिचार मान्य रहेको कुतर्क अघि सार्दै आफ्नो पाप कर्मलाई न्यायोचित ठान्छन् ।

हालका दिनहरुमा राजनेतादेखि धार्मिक गुरुहरुको पोल खुलेका दृष्टान्तहरुबाट महिला सदस्यहरुले आत्मबल संगालेर अघि बढ्न हिम्मत गर्नु पर्दछ ।

संसारको कुनै धर्म, आस्था वा दर्शनमा उपरोक्त नाताहरुमा कुनै तवरबाट दुराचार, व्यभिचार र कलंकलाई बिल्कुलै स्थान हुँदैन । रगतका नाता बाहेक वैवाहिक नाताले सिर्जित महत्वपूर्ण नाता कायम भएकाहरुमा बुहारी, भाउजु, माइजु, फुपू, काकी, ठूली आमा, सानी आमा, भान्जी, भतिजी आदि महिला सदस्यहरुको पूजनीय नातामा दुष्कर्म गर्नेहरुको छुट्टै दलिल हुन्छन् । कुनै आध्यात्मिक वाद, दर्शन, आस्था वा धर्म सरोकार नराख्नेहरु पनि नैतिकता, सदाचार र असल व्यक्तित्वमा टिकि राखेका हुन्छन् । कानुन, समाज र आस्था नामक अनुशासनको बागडोरले वर्जित गरेका कुकृत्यहरु सदैव निषेधित र तेज्य हुन्छन् ।

यो वा त्यो कुनै शव्दजालले गलत हरकत कदापि क्षम्य हुन सक्दैन । नाताको मर्यादा उल्लंघन गर्ने पिता, भाई, दाजु, काका, ठूलोबा, हजुरबा, मामा, भान्जा, जुवाइँ, जेठाजु र ससुरा जस्ता पवित्र नाताहरुले गरेको हुँदैन, त्यसता सीमा नाघ्नेलाई नाताको दुहाई दिन मिल्दैन र नाताकै बहानामा पशुलाई क्षमा गर्ने वा सहेर बस्ने गलती महिला सदस्यले गरेमा जीवनभर सधैं त्यस नर्कको अनुभव निरन्तर र बारम्बार हुने गर्नेमा शंका रहन्न । पशुवत् व्यवहार गर्ने घरपरिवारका सदस्यहरुलाई कानुनी राज्यमा अपराध र अन्याय गर्न छुट हुँदैन ।

हालका दिनहरुमा राजनेतादेखि धार्मिक गुरुहरुको पोल खुलेका दृष्टान्तहरुबाट महिला सदस्यहरुले आत्मबल संगालेर अघि बढ्न हिम्मत गर्नु पर्दछ । व्यभिचारी विरुद्ध प्रतिकार स्वरुप चिच्याउने, आत्मरक्षा गर्ने, शारीरिक प्रतिवाद गर्ने र जुलुमीको भित्रीबस्त्र, वीर्य, लिखत, फोटो, भिडियो आदि प्रमाणमा लाग्ने चिजवस्तुहरु एकत्रित गर्न सके मात्र प्रहरी, अदालत र राज्यले मदद गर्न सक्ने हुन्छ । सही कुरा बोल्नमा लाज मान्ने भएकै कारण महिलालाई कमजोर ठानेर बलात्कारीले आँट गरेको हुन्छ । तसर्थ अन्यायका विरुद्धको संघर्ष गर्न डर र लाज त्यागेर प्रतिकार र प्रतिवादमा उत्रने सर्वप्रथम पीडित स्वयम्बाट शुरु गरिनु पर्दछ । पीडितले जीवनको सुरक्षा, भरणपोषणको चिन्ता र सामाजिक बहिष्कारको डरले मौन बसेर चुपचाप सम्झौता गरेमा बाहिर समाज र कानुनलाई केही थाहा नभए कसले कसरी मद्दत गर्लान ?

प्रतिकार गर्न सकिने उपायहरु:

वातावरण बन्न नदिने– अपराधिक घटना हुनुमा वातावरणको ठूलो भुमिका रहेको हुन्छ । एकान्त वा उत्ताउला गतिविधिलाई बढावा दिने खालका परिस्थितिबाट जोगिनु सजिलो तरिका मानिन्छ । शिशु उमेरका भाई–बहिनीहरु सँगै सुत्ने बस्ने गरेतापनि जसै उमेर बढदै जान्छ दस देखि बाह्र वर्षको उमेरदेखि एउटै ओछ्यान गरिनु हुन्न । एउटै कोठामा वयस्क महिला पुरुष अभिभावकहरुको गैरहाजिरीमा लामो समय दिन रातको फरक नगरी बस्न बाध्यहुने परिवेश खतरनाक हुन सक्दछ । अश्लील साहित्य, फोटो, भिडियो, डिस्को र जुवाघर, लागू औषध दुर्व्यसनका संगतिहरु प्रतिको उत्सुकताले गलत दिशा डोर्याउने प्रबल सम्भावनाबाट टाढा रहनु पर्दछ ।

शुरुमै प्रस्ताव नकार्न पछि नपर्ने– सामान्य बोलचाल र कामको सिलसिलामा ठट्टा मस्करी गर्दा गर्दै महिलाको सोझोपनलाई सकारात्मक संकेत भएको बलात्कारीको गलत बुझाइले समयको कुनै मोडमा फुत्कन नसकिने गरी आफ्नै स्विकारोक्तिले फँस्न सकिने तर्फ महिला चनाखो भइ बेलैमा अस्वाभाविक गतिविधि नगर्न चेतावनी दिने र आफुले अनावश्यक सहुलियत लिने रोक्नु पर्दछ ।

अभिभावकलाई गुमराहमा नराख्ने– आफ्ना मित्रहरुसँगको व्यक्तिगत सम्पर्क बारे आभिभावकलाई नभनि लुकाउनाले धोका पाउनु आफ्नै कमजोरी हुन जान्छ । अभिभावको अनुभव, परिपक्वता र सामजिक ज्ञानले किशोर–किशोरीलाई बेलैमा बाटो नबिराउन सही मार्गदर्शन हुन सक्दछ ।

हाडनाता करणी कसूरमा जहिले सुकै उजुर गर्न सकिने छ भने यौन दुर्व्यवहार अन्तर्गतको कसूरमा घटनाको एक वर्ष भित्र उजुर गर्न सकिने कानुनी प्रावधान रहेको छ तथापि उजुरको हदम्याद छदैछ भनि प्रहरीमा जान ढिलाइ गर्न हुन्न ।

आकस्मिक सेवाका नम्बर लिई राख्ने– प्रहरी, दमकल र अस्पतालका नम्बर आफ्नो मोबाइलमा सुरक्षित गरे आपतकालीन अवस्थामा सिधै आफैले गुहार माग्न सकिन्छ । शंकास्पद समय र ठाउँहरुमा आफ्ना नाता लगायत परिचित वा अपरिचितहरुबाट असामान्य व्यवहारको आभास भएमा तुरुन्त बाहिर निस्कने, निस्कन नसके बलात्कारीले दुर्व्यवहार गर्दाका बखत यदि सकिन्छ भने धारिलो तिखो हतियारको रुपमा कलम, पेन्सिल, चश्माको डण्डी र हेयर पिन जस्ता दैनिक प्रयोगका सामानले बलात्कारीको संवेदनशील आँखा, नाँक, मुख वा गुप्तांगमा मरणासन्न घाइते हुनेगरी जोडदार प्रहार गरेर उम्केर प्रहरीमा उजुर गर्न सकिन्छ । त्यसरी जुलुमीको मृत्यु भएमा पनि मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–२ दफा २४को १, २ रदफा २६(२)को (ख) र (ग)ले छुट दिएको र परिच्छेद–१२ दफा १७९(१)को (क)२ र (ख)ले बात नलाग्ने संरक्षण प्रदान गरेको छ ।

यौन दुर्व्यवहारमा परे के गर्ने– बलात्कारीले साथीहरु समेत गरी सामुहिक बल प्रयोग गर्दा प्रतिकार गर्न नसकिने आफु कमजोर अवस्थाको देखिए बलात्कारीलाई रिसाउने, डराउने वा आत्तिने गरी चिच्याउने गर्दा आवेशमा उसले ज्यान मार्न सक्ने हुँदा मौका हेरी जीउँदै फुत्केर भाग्न सक्नु भाग्य हुन्छ । हाडनाता करणी कसूरमा जहिले सुकै उजुर गर्न सकिने छ भने यौन दुर्व्यवहार अन्तर्गतको कसूरमा घटनाको एक वर्ष भित्र उजुर गर्न सकिने कानुनी प्रावधान रहेको छ तथापि उजुरको हदम्याद छदैछ भनि प्रहरीमा जान ढिलाइ गर्न हुन्न । प्रहरी कार्यालय जान कोरीबाटी, धोइ पखाल गर्ने, औषधि मलम लाउने, लुगा फेर्ने, फोहर भनि रगत, सिंगान, वीर्य, रौं आदि हात, हत्केला, चेहरा, छाती, गला, तिघ्रा र गुप्तांग तिर भएका खोस्रेको कोपरेको घाउ सफा गरेर अपराधी विरुद्धको प्रमाण नष्ट हुन नदिन तत्काल जस्ताको तस्तै हालतमा प्रहरी समक्ष आफै मेडिकल परीक्षण र सबुत संकलनमा प्रहरीलाई सघाउन जानु पर्दछ ।

पीडितलाई कानुनी संरक्षणको प्रावधान– नेपालको संधिान भाग–३ दफा १६(१)ले मौलिक हक र कर्तव्य अन्तर्गत प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित(ग्यारेण्टी) गरेको छ । दफा २१(२)ले अपराध पीडितलाई कानुन बमोजिम सामाजिक पुनःस्थापना र क्षतिपूर्ति सहितको न्याय पाउने हक तोकेको छ । दफा ३८(३)ले महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यसता कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति दिलाइने छ भनि स्पष्ट खुलाई दिएको छ । दफा ३९(१०)ले पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुने बताएको छ ।

हाडनाता करणी र बलात्कार गर्नेलाई सजाय– पीडित र पीडकको नाता र सम्पर्कको पृष्ठभूमि हेरेर सजायको मात्रा जन्मकैददेखि केही वर्ष कैद र निश्चित रकमको जरिबाना फरक किसिमका रहेका छन् । न्याय दिलाउन सरकार, समाज र सञ्चार जगतको तत्परता सधैं पीडितको साथ पहिलेको भन्दा धेरै तीव्र प्रभावकारी हुने गरेको छ ।

निष्कर्ष – गृहस्थी सांसारिक जीवनमा महिलाको जिम्मेवारी अग्रणी रहेकोले महिला वर्ग सुरक्षित रहे समाज आफै समृद्धि तर्फ लाग्नेछ ।
भद्रकाली, बुढानिलकन्ठ
[email protected]

डा. तामाङ पुर्व एआइजी तथा सुरक्षाविद् तथा राजनीतिक विश्लेषक हुनुहुन्छ ।

प्रतिकृयाहरु
Loading...