यी हुन् शरणार्थी सर्जक

  • प्रकाश सायमी

चार्ली च्याप्लिन्का बारेमा बंगालीभाषी फिल्मकार सत्यजित रेले लेखेका थिए, ‘सानो मान्छेको ठूलो किताब।’ त्यो ठूलो किताब थियो आत्ममन्थन शैलीमा लिखित उनको जीवनकथा,’माय् अटोबायोग्राफी’।

त्यो समय चार्ली च्याप्लिन् संसारकै सानो कदका चर्चित मान्छे थिए। भनिन्थ्यो, सबभन्दा सानो मान्छे चार्ली च्याप्लिन् र सानो देश चेकोस्लोभाकिया। त्यो सानो देश चेकोस्लोभाकिया पनि दुई भागमा विभक्त भयो र झन् सानो बन्यो, चेक र स्लोभाकिया।
आज चेकभन्दा साना मुलुक पनि कति छन्। तर चेकका नागरिकले शरणार्थीको जीवन बिताएर बाहिर विश्वमा बाँच्न परिरहेको छ। चार्ली च्याप्लिन्ले आफ्नो आत्मकथामा स्पष्ट लेखेका थिए, अब विश्वको अन्तिम रोग हुनेछ शरणार्थीको।

तिब्बती नागरिक शरण खोज्दै नेपाल र भारततिर पलायन हुँदै गर्दा उनले एक अन्तर्वार्ताको उत्कर्षमा भनेका थिए, अब तिब्बतीपछि कुनै अर्को जातिले शरणार्थीको जीवन बाँच्नु नपरोस्। उनको कामना थियो। तर कामनामै सीमित भयो। विश्वमा मान्छे प्रख्य रूपमा तीन कारणले शरणार्थी जीवन बिताउन वाध्य भएको इतिहास छ, युद्ध, रोग र प्राकृतिक प्रकोप।

यी तीनैवटा कारण अशिक्षाकै कारण हुन्। अशिक्षा भइकन पनि युद्ध चाहिँ विशुद्ध राजनीतिक कारण हुन गएको छ। युद्ध र युद्धोपरान्त विभाजन भएका मुलुकका कारण विश्वका कैयन् महापुरुषहरू अलगअलग भेषमा शरणार्थी भएर बाँचेका छन्। वा, बाँच्नु परेको छ। दलाई लामा, ओशो त्यसका चमकदार नमुना हुन् भने पाकिस्तानका चर्चित कवि फैज अहमद फैज, पोल्यान्डका फिल्मकार रोमन पोलन्स्की, ग्रिसका फिल्मकार कन्स्टायन्टिन कोस्टा-गाभ्रास, बंगलादेशकी लेखिका तसलीमा नसरीन, उर्दूभाषी गजलकार नीदा फाजली आदि आदि कैयन् उदाहरण छन्।

विश्वप्रसिद्ध लेखक सलमान रुश्दी त जन्मकालदेखि नै शरणार्थीकै रूपमा घुमिरहे तर ‘द सटानिक भर्सेज्’ को प्रकाशनपछि त उनको जीवन झन् संकटको पराकाष्ठामै पुग्यो, शरणार्थीको रूपमा।

शरणार्थीको जीवनमै उनले आफ्नो आत्मसंस्मरण ‘जोसेफ एन्टोन’ लेखे, आफूलाई मनपर्ने दुई लेखक जोसेफ कोनराड र एन्टोन चेखवको संयुक्त नाम जोडेर उनले आफ्नो नाम नै जोसेफ एन्टोन राखेका थिए। उपनाम नभए पनि सुरक्षाको लागि उनलाई यो नामले निकै बचाएको थियो।

‘जोसेफ एन्टोन’मा उनले शरणको जीवनलाई पीडाको पत्रपत्रमा भोगेको देखाएका छन्। उनी आफ्ना पिता माइलोमा क्यान्सरले ग्रस्त हुँदा पनि पाकिस्तान जान नसकेको र बित्दा पनि त्यो अवसरबाट वञ्चित भएको पीडा पोखेका छन्।
बम्बईको वार्डेन रोडको विन्स्डर विल्लामा जन्म लिएका रुश्दी बेलायत गएर पढेर फर्केर आउँदा शरणार्थी भइसकेका थिए।
उनकी आमा नेगिन रुश्दी उनलाई पुरानापुराना कथा पढेर सुनाउँथिन् तर पछि तिनले एकदिन भनिन्,’म तिमीलाई सारा अनुभव भन्न अब सक्दिनँ, तिमीले ती सबै कुरा किताबमा लेख्यौ भने म गोबरझ्याउलोमा फँस्नेछु।

त्यसपछि आमाको कथा रोकियो।त्यो रोकिएको कथालाई उनले १० अध्यायमा टुंग्याएका छन्। यो आत्मकथामा उनको यायावरीय शैलीको जीवन देखेर दिक्क भएका उनका छोरा जफरले एकपटक फोनमा सोध्छन्, ‘ड्याड, कहिले हाम्रो स्थायी बस्ने ठेगान हुन्छ?’

सलमान यस प्रश्नमा छोराका सामु नि:शब्द भएका छन्। पुस्तकभरि उनले देश नहुनुको पीडा पोख्दै बिताएका छन्। भारत जुन उनको जन्मभूमि हो, पाकिस्तान उनको मातृभूमि बन्न पुग्यो उनका पिता अनीश रुश्दीले अपनाएपछि।

विश्वप्रसिद्ध लेखक सलमानलाई ‘द सैटानिक भर्सेज्’पछि उनकै जातभाइ इस्लामिक सम्प्रदायबाट फतवाको घोषणा सुनाइएपछि राहतको छानो खोज्दै बेलायत, फ्रान्स, अमेरिका घुम्दै बिताए। एकनाशको जीवन कहिले भएन। उनी हरेक ठाउँमा अतिथि रहे, तिथि तय नभएको यात्री।

सलमान रुश्दीको जीवनको धेरै किस्सा उर्दूका गजलकार नीदा फमजलीसित समतुल्य मान्न मिल्छ। रुश्दी र गजलकार फाजलीको जीवनको औसत कथा एउटै छ। दुवैका अभिभावकले मुस्लिम भएको कारणले पाकिस्तान रोजे तर सन्तानले अभिव्यक्तिको स्वतन्त्रता र लेखनको हकदारीका कारण भारत छोड्न चाहेनन्। तर भारतमै पनि तिनको जीवन सुरक्षाको घेरामा कहिले थिएन। तिनलाई जीवनभर पाकिस्तानी भनेर हेलाँ गरिन्थ्यो।

भारतमै त्यस्तो पीडादायी जीवन बिताएका कैयन हस्तिहरू छन्, जसलाई युद्ध वा सीमा विवादको कुरा आयो कि पाकिस्तानी भनेर ताना कसिन्थ्यो। दिलीपकुमार, सआदत हसन मन्टो, नौशाद, नाशाद, साहिर लुधियानवी त्यस्तै कोटिमा पर्थे। मन्टो र नाशादले त पछि पाकिस्तानमै गएर जीवन पनि बिताए तर त्यहाँ पनि शरणार्थीकै जस्तो जीवन भएपछि मन्टो फर्केर भारत नै आए।
देश नहुनुको पीडा हरेक समय मनमा गुज्रिरहन्थ्यो नीदा फाजलीलाई पनि। उनले लेखेका छन्,

मैँ रोया परदेश में भीगा माँ का प्यार
दु:ख ने दु:ख से बात की, बिन चिठी बिन तार ।।

सन् १९४७ को तबाही (उनले त्यो विभाजनलाई तबाही नै भनेका छन्) पछि उनकी आमा पाकिस्तानकी भइन् र उनी एक्लो भारतका। जब उनले आमा सिकिस्त हुँदा भारत जान चाहे, भारत-पाकिस्तानको लडाइँ चरमचुलीमा पुगिसकेको थियो।
उनकी आमासित समय कम थियो र राजनीतिक लडाइँका लागि समय हतारको थियो। सारा कोसिसका बाबजुद पनि नीदा आफ्नी आमालाई हेर्न वा भेट्न जानबाट वञ्चित रहे, वर्षौंको नाता सेलाएर चिहानमा परिणत भयो।

थियो त उनको हातमा आमाको अन्तिम चिठी, मेरो खुदाले मेरा सारा इच्छा पूरा गरे। मैले जे मागें त्यो उसले दियो। एउटा तेरै दु:ख थियो जसले पिछा छोडेन। शायद मेरो कुनै अपराधको कुनै सजाय होला जुन तँ जिउँदो हुँदाहुँदै पनि मेरो आँखाबाट ओझेल परेको छस्। तर मलाई यकिन छ एकनएकदिन मेरो मालिकले मेरो अपराधलाई माफ गर्नेछ र यो वियोगको घडी आफैं समाप्त हुनेछ।

नीदाले आमाको यो पत्रपछि लेखेका छन्, तर तिनको मालिकलाई दुई मुलुकको लडाइँ चर्काउन यति फुर्सत थियो कि तिनको प्रार्थना सुन्न भ्याएनन्।

भारतमा जस्तै पाकिस्तानमा पनि चर्चित मानिने गजलकार नीदा फाजली नेपालमा पनि अत्यधिक मनपराइने गजलकार हुन्। नेपाली चलचित्रकी चर्चित नायिका गौरी मल्ल जगजित सिंहले गाएको नीदाको गजल ‘हर तरफ हर जगह वेशुमार आदमी’ सुनेपछि सदैव भावुक हुन्छिन्। फेसबुकमा प्राय: सेयर पनि गर्छिन्। नीदाका फिल्मी गीत पनि लोकप्रिय छन्, ‘तु इस तरह से मेरे जिन्दगी में शामिल है होस् वा तेरे लिए पलकों के झालर बुनूँ। उनलाई यस्ता गीत र भावले मात्र होइन।

गजल, गीत, नज्म वा कतआत्मा आफ्नै महारत पाएका नीदा फाजली नेपाली भाषाका चर्चित उपन्यासका डा. ध्रुवचन्द्र गौतमका प्रिय गजलकार हुन्, डा. गौतमसित उनको एउटा गजल कण्ठस्थै हुने गर्छ,

कभी किसी को मुकम्मल जहाँ नहीँ मिलता
कहीँ जमीँ तो कहीँ आसमाँ नहीं मिलता

फाजलीको यो गजलमाथि गम्भीर विचारविमर्श गर्ने हो भने यसमा समग्र जीवनदर्शन देखिन्छ, कसैले पनि आफ्नो जीवनमा भनेजस्तो संसार वा सोचेजस्तो जीवन पाउन सक्दैनन् जमीन पाए, आकाश पाउन सक्दैनन्, आकाश पाए जमिन।
यो संकट सदासदा सबैको जीवन छ नै। उनको भावदशा यही हो भन्न सकिने।

साठोत्तरी पिँढीका लोकप्रिय शायर नीदाको हालको बसाइँ बम्बईको खारस्थित अमर अपार्टमेन्टमा कायमै छ। उनले आफ्ना पिता मुर्तजा हसन र माता जमिल फातिमा दुवैलाई पाकिस्तानमै गुमाए। आफ्ना पिताको मृत्युपछि उनले कवितामा लेखेका छन्,
तिम्रो चिहानमा
म मृत्यु इच्छा पढ्न आएको होइन
मलाई थाहा छ
तिमी मर्न सक्दैनौ
तिम्रो मृत्युको साँचो खबर जसले उडाएको थियो
त्यो झूटो थियो – त्यो तिमी कहाँ थियौ
कुनै सुकेको पात हावासित हल्लिँदै टुटेको थियो
मेरो आँखा
तिम्रो दृश्यमा कैद छ अझै
म जे पनि देख्छु वा सोच्छु
त्यो त्यही हो
जुन तिम्रो इज्जत र बदनामीको दुनियाँ थियो
कहीँ केही पनि बदलिएको छैन
तिम्रो हात मेरो औंलामा सास फेर्दछ
म लेख्नको लागि जहिले पनि
किताब कलम उठाउँछु
तिमीलाई मेरै कुर्सीमा बसेको पाउँछु
शरीरमा जति पनि मेरो रगत छ
त्यो तिम्रै कामना र कमजोरीका साथ बग्छन्
मेरो आवाजमा लुकेर
तिम्रो आत्म बस्दछ
मेरो बिमारीमा तिमी
मेरो लाचारीमा तिमी
तिम्रो चिहानमा
जसले तिम्रो नाम लेखेको छ
त्यो झूटो हो
तिम्रो चिहानमा
म गाडिएको छु
तिमी ममा जीवित छौ
कहिले फुर्सद पायौ भनें
मेरो चिहानमा मृत्यु इच्छा पढ्न आउनू।

यी हुन् नीदा। अनि उनको मृत्यु इच्छा अर्थात् उनको अपुरो फातिहा। भविष्यत: उनको चिहान पाकिस्तानमा हुँदैन। यो हरेक शरणार्थीको समस्या हो। शरणार्थीको समस्या बाँच्नुको मात्र होइन मर्नुको पनि हुन्छ। मृत्युपछिका कैयन् संस्कारका लागि लड्नुपर्ने हुन्छ। हालै आएको भूकम्प पछि आफ्नो फेसबुकमा नेपालीलाई शरणार्थी बनाउने तुच्छ टिप्पणी लेखेर मधेसवादी नेता सरिता गिरी घनघोर विवादमा आएकी छिन्।

उनले पहाडका नेपालीलाई तराईमा झारे समस्या हुने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति राखेर नेपाली मनमा भाँजा हालेका छन्। नेपालका कैयन् तराई मुलुकका मान्छे आनन्दले बिहारका छापछापमा अनेक व्यवसाय गरेर बस्दा समस्या नहुने।

बिहारका कैयन् नागरिक काठमाडौंको गल्लीगल्लीमा केशशृंगार गृह खोलेर बस्दा समस्या नहुने वा नरहने। तर पहाडको नेपाली तराई झर्दा वा तराईको नेपाली पहाड चढ्दा किन शरणार्थी समस्या हुने्?
दृष्टिकोणको फरक यही छ।

सप्तरी भारदहका कैयन् झा, गुप्ता वा चुहार पटनाको बस व्यवसायमा आबद्ध छन्। पञ्जाबमा धान काट्न कैयन् धनुषाका नेपाली भारत जान्छन् जसमाथि राजेन्द्र विमलले फिल्म नै लेखेका छन्, ‘हंसा चलल परदेश’।

हाम्रा कैयन् मैथिलीभाषी रंगकर्मी जनकपुरबाट नाट्य महोत्सव देखाउन पटना जान्छन्। यस्तो सम्मानको परम्परा भएको थात थलोमा देशभित्रैको नेपालीलाई शरणार्थी देख्नु वा सोच्नु मायोपिक समस्याभन्दा केही होइन ।

विनाशकारी भूकम्पपछि बिहार फर्केर गएका पुल्चोकको हजामलाई उनको नेवार घरवालाले नेपाल फर्केर नआइज भनेको छैन। बागबजारको सुपर भ्यु छोडेर गएका रहिम मियाँलाई घरवाला प्रेमध्वज प्रधानले अब नफर्की भनेको छैन वा भन्ने पनि छैन। एउटा भूकम्पको कम्पन आउँदैन मान्छे यति छिटो बदलिनलाई ऊ कुनै ढुंगा वा पात होइन। यति त बुझ्नै पर्छ हाम्रो चेतनाको धागोले।

हामीले जतिसुकै छयहत्तरे भनेर दार्जिलिङका नेपालीलाई व्यँग्य कसे पनि ‘देशले रगत मागे मलाई बलि चढाऊ रुँदिनन् मेरी आमा ऊ हो नेपालको छोरो’ भनेर गाएकै छन्। बरु दार्जिलिङबाट आएका गोपाल योञ्जनको गीत आज अमेरिकामा शरणार्थी जीवन बिताइरहेका कलाकारले देश सम्झेर गाइरहेका होलान् भने अत्युक्ति नहोला।

के मान्छे देश हुँदाहुँदै शरणार्थी हुनुपर्ने यही मात्र हो त?

कैयौं नेपालीले शानले भारतको सीमा रक्षणका निम्ति ज्यान आहुति दिएर इतिहास बनाएका छन्, त्यसैले भारतका राष्ट्रकवि प्रदीप लेख्छन्
आफ्नो राष्ट्रिय गीतमा :
कोही गोर्खा है कोही मदरासी
हम सब है भारतवासी
हे मेरे वतन के लोगों जरा आँख में भर लो पानी
यो गीत भावुकतामा लेखिएको होइन, भारत बचाउन गोर्खा जातिले गरेको योगदानको, कर्मको, धर्मको गुणगानमा लेखिएको हो।
भारतमा नेपालीले जे जस्तो सम्मान पाएको छ त्यो नेपालीको बहादुरीको परिणाम हो। भारतमै नेपालीलाई हेय दृष्टिले हेरिने दिन गइसके भने अब मधेसवादी सोचका कारणले यो भेदको दृष्टि राख्नु वा शरणार्थी सोच राख्नु यतिबेला कुकर्म हुन जानेछ।

राजनीतिका लागि गरिने, बोलिने वा भनिने कुराले क्षणिक आनन्द देला तर समस्याको हल गर्दैन। एउटा नेपालीले अर्को नेपालीले शरणार्थीको पगरी गुथाउनु त्यति न्यायोचित नहोला कि?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *