एमसीसी सम्झौता संसदबाट अनुमोदन भए मात्र रकम निकासा हुन्छः अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा राखिएका अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कार्यक्रमहरू सम्झौता पत्र संसदबाट अनुमोदन नभएसम्म यथावत् राखिने बताएका छन्। उनले एमसीसी सम्झौता संसदबाट अनुमोदन भएपछि मात्र त्यसको रकम निकासा हुने स्पष्टीकरण दिए।

सोमबार प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै उनले भनेका छन्, ‘गत तीन वर्ष देखि एमसीसी अन्तर्गतका केही कार्यक्रम बजेटमा राख्दै आएका छौँ। आगामी वर्षको बजेटमा पनि केही कार्यक्रममा राखिएको छ। तर अमेरिकी सहयोग रकम त्यो बेला मात्र निकासा हुन्छ, जुन बेला हामी संसद्मा विचाराधीन रहेको सम्झौता पत्र संसद् अनुमोदन गर्छौ। त्यो नगरुन्जेल त्यो यथावत् रहन्छ। म स्पष्ट पार्न चाहन्छु।’

सरकारले बजेटको सम्भावित वैदेशिक अनुदान सहायतासम्बन्धी अनुसूचीमा एमसीसीको पाँच अर्ब ७३ करोड रुपैयाँ राखेको छ। एसीसी अन्तर्गतका कार्यक्रम बजेटमा राखिएपछि सत्तारुढ दलका सांसदहरूले जस्केलाबाट एमसीसीलाई पारित गर्ने रणनीति लिएको भन्दै संसद्मा आक्रोश व्यक्त गरेका थिए।

संघीय संसद्मा सरकारले पेस गरेको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको आज जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबाट भए पनि अरू तरिकाले भए पनि उक्त प्रसारण लाइन बनाइने बताएका थिए। उनले भनेका थिए, ‘नेपालमा उत्पादन भएका विद्युत् खपतको लागि उक्त प्रसारण लाइन चाहिन्छ भनेर हाम्रा प्राविधिकले सिफारिस गरेका छन्। ट्रान्समिशन लाइन पछाडिको ढोका, जस्केलाबाट होइन मूलढोकाबाट ट्रान्समिशन लाइन बन्छ,’

पछि नेकपा सचिवालय बैठकमा एमसीसी सम्झौता संसदबाट पारित नभएसम्म त्यस अन्तर्गतका कार्यक्रम रोक्ने सहमति भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *