क्वारेन्टाइनबाट घर फर्किएका युवकको काेराेनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

काठमाडौं । सुर्खेतका एक युवकको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिकाका २० वर्षीय युवकको मृत्यु भएको हो । भारतबाट फर्किएका ती युवा विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा १४ दिन बसेका थिए । आरडिटी नेगेटिभ आएपछि उनलाई घर पठाइएकोमा घरैमा बिहीबार बिहान मृत्यु भएको हो ।

मृत्युपछि गरिएको पीसिआर परीक्षणमा पश्चिम सुर्खेतका ती युवाको रिपोर्ट नेगेटिभ आएको हो । जेठ पहिलो साता भारतको मुम्बईबाट आएका युवाको बुधबार दिउँसो गरिएको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो । तर, राति घर पुगेका उनी घर नजिकैको माहुरी पालन स्रोत केन्द्रको भवनमा बसेका थिए । त्यहि उनको मृत्यु भएको थियो ।

याेसँगै नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ११ पुगेकाे छ । आज थप २७८ जना संक्रमित थपिएसँगै संक्रमित संख्या २९१२ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *