कतारमा ज्यान गुमाएका २० नेपालीको शव आज नेपाल आउँदै (नामावली सहित)

काठमाडौं । कतारमा ज्यान गुमाएका २० नेपालीको शव आज नेपाल ल्याईंदैछ । वैदेशिक रोजगारीका क्रममा कतारमा ज्यान गुमाएका २० जना नेपालीको शव स्वदेश ल्याइने भएको हो । कतार एयरलाइन्सबाट आज सवा १२ बजे त्रिभुवन विमानस्थलमा ति शवहरु अवतरण गरिने छ ।

ती शवसँगै कतार एयरलाइन्सले ४३ जना नेपाली पनि लिएर आउने बताइएको छ । ४३ नेपालीहरुलाई कतार सरकार आफैले नेपाल फर्कने ब्यवस्था गरेको हो ।  

वैदेशिक रोजगार बोर्डका अनुसार कतार एयरलाइन्समा सर्लाही हरिवनका मुस्ताक साइक, सिराहा परासीका रुपेशकुमार मण्डल, कपिलबस्तु दोहनीका महमुद अलमान मुसलमान, लमजुङको धोदेनीका कुम्बा तामाङको शव आउँदैछ । यसैगरी बाँके रझेनाका भक्तबहादुर थापामगर, सप्तरी लोहताराका राजेन्द्रप्रसाद भण्डल, मोरङ कोसी हरैँचाका युवराज अधिकारीको पनि शव आउँदैछ । भने, भोजपुर देउरालीका मीनबहादुर थापा, भोजपुर टुंगेचाका मंगलबहादुर तामाङ, सुर्खेत सहारेका नरबहादुर कामी, बर्दिया मोतिपुरका सुकराम थारु, सर्लाही इश्वरपुरका अरुणकुमार पंजियारको पनि शव रहेको छ ।

यसैगरी महोत्तरी दम्हीका शिवशंकर राउत, धनुषा भरतपुरका चुतर्वा मण्डल, मकवानपुर भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देही देवदहका यामबहादुर थापा, सिराहा सुखचैनाका कासिदेव यादब, सर्लाही सधोवाका पासवान र महोत्तरी औरहीका अनिल चौधरीको शव पनि आउँदैछ ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी प्रमुख राजनकुमार श्रेष्ठका अनुसार कतार एयरलाइन्सबाट आउने शवमध्ये ७ वटा परिवारले काठमाडौँमा जिम्मा लिने र बाँकीलाई उनीहरुका जिल्लामा पुर्याउने ब्यवस्था गरीएको छ ।

यसैगरी आजै साउदी अरब, यूएई र कुवेतबाट पनि चार वटा शव आउनेछन् । जजिरा एयरलाइन्सले कुवेतबाट दुई जनाको शव ल्याउँदा हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले साउदी र यूएईबाट एक एक वटा शव ल्याउनेछन् ।

स्रोतका अनुसार कुवेतबाट संखुवासभाका मानबहादुर आले र नुवाकोटका सोनु तामाङको शव आउँदै छ । युएईबाट सिन्धुपाल्चोकका पेम्बा नोर्बु शेर्पा र साउदी अरबबाट भैरब बहादुर बस्नेतको शव ल्याउने भनिएको छ ।

जजिराले हिजो बिहीबार पनि दुईवटा शव ल्याएको थियो । कोरोना भाइरसको महामारी र लकडाउनपछि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव अलपत्र परेको छ ।

सरकारले विदेशमा रहेका अलपत्र नेपालीलाई उद्धार गर्ने निर्णय गरेसँगै शवलाई नेपाल ल्याउन सम्भव भएको हो । हालसम्म यसअघि चार जनाको शव नेपाल ल्याइएको छ । तीमध्ये कुवेतबाट तीन वटा छन् भने एउटा यूएईबाट रहेको छ ।

सरकारले विदेशमै दाहसंस्कार गर्न सहमती दिने परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेकोमा अधिकांश परीवारले शवलाई जसरी पनि स्वदेशमै ल्याएर दाहसंस्कार गर्नुपर्ने भन्दै शवको पर्खाईमा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *