गरिबी र काेराेनाले पिल्सिएको एक आत्माः धर्तीबाट बिदा हुँदाको त्यो क्षण…

‘ढकढक्, ढकढक् । नानी ! ए नानी ! ढोका खोल त !’

५ दिनपछि कसैले ढोका ढक्ढकायो । खुलेन !

फेरि आवाज आयो – ‘ढकढक्, ढकढक् । नानी, ढोका खोल न भन्या !’

‘ढोका फोड्नुपर्छ’– कसैले बोल्यो । ५ दिनमा पुरै दुर्गन्धित भएछु सायद, सबैले नाक थुने । क्षणभरमै हल्लाखल्ला भयो । छिमेकभरका रमिते जम्मा भए । ती सबै मेरो अनुहार र हविगत नियाल्न तछाडमछाड गरिरहेथे ।

मेरो एक झल्कोका प्यासी देखिन्थे ती सब्, जो बाटोमा हिँड्दा देखे–नदेखेझैँ गर्थे मलाई !

महामारी कोरोना भाइरस (कोभिड १९) को छ । नाडी छाम्न त परै जाओस्, भित्र पस्ने आँटसम्म गरेनन् कसैले । प्रहरीलाई खबर गरे । स्वास्थ्यकर्मीसहितको टोली आयो । थ्रोट स्वाब परीक्षणका लागि पठाइयो ।

०००

मेरा कोठाका भित्ताहरु रोइकराइ गरिरहेछन् । ती छरपस्ट सामानहरु मेरा सहारा खोजरिहेछन्, सु–सज्जित रहन । शिरक, डस्ना, ओढ्ने सबैले शोक मनाइरहेछन् एकसाथ । मेरा स्पर्श खोजिरहेछन् ती झ्याल, पर्दा । मैले पकाउँदा छरिएका खानाले अघाउने किचेन भोकाएको छ ।

सृष्टि नेपाल (द्वारिका)

चलमलाउन सक्दैन शरीर, केवल आत्मा नाचिरहेछ वरिपरि । घरि यता, घरी उता गरिरहन्छ । आफ्नो हविगत नियाल्छ । बोल्न खोज्छु, सुन्दैनन् कसैले यी आवाज ।

म, केवल म मा सिमित भएकि छु । हुन त यसअघि पनि म, म मा नै सिमित थिएँ । न थिए साथीभाई, न इष्टमित्र, न आफन्त । नजिक थिए सबै तरपनि दुर थिएँ म ती सब् चीजबाट, जो मेरा हित्त–चित्तमा अटेनन् । तीनीहरुसँग किन नजिक होऊँ म, जसले मेरो विश्वासलाई क्षणभरमै छियाछिया बनाए ।

मैले कति पटक कसम खाएकि थिएँ आफैँसँग– पारिश्रमिक जतिसुकै मिलोस्, त्यसैबाट जिविका चलाउँछु तर कसैसँग झुक्दिन । घरधनीलाई भाडा तिर्न र एक पेट खान पुगे बस्दिन तिनीहरुसँग जसले मलाई बोझ ठाने !

त्यसैले पनि मैले जब–जब जहाँ–जे काम सुरु गरेँ, न्युनतम पारिश्रमिकदेखि नै आत्मनिर्भर बन्न सिकेँ । खटाएर खान सिकेँ । खटाएर लाउन सिकेँ । रोएको आत्माको चित्त बुझाउन सिकेँ । गहभरी टल्पलाएका आँशु आँखाको आडैमा रोक्न पनि सिकेँ ।

अनि त्याग्न सिकेँ ती सबै रहरहरु । बोझ मान्नेहरुको सामुन्नेबाट टाढिन सिकेँ । आफ्नो पेट आफैँ पाल्दाको खुशी, आफ्नो जिम्मेवारी आफैँले उठाउन सक्दाको खुशी त कति हो कति ! यी सब् महशुस गरेँ ।

दुःखी एउटै कुराले बनाउँथ्यो– मेरा पारिश्रमिकले कसैलाई पाल्न सकेनन्, शिवाय म । न त बा–आमाको आँशु नै पुछ्न पाएँ । बा–आमा पाल्न पाउँदाको खुशी मेरो भाग्यमा रहेनछ सायद, त्यसैले यो सौभाग्य नपाउँदै उहाँहरुले संसार छोड्नुभयो । म जति नै सुखी किन नहोऊँ, यही अतितले पिरोल्छ । दुःखी बनाउँछ, खड्किरहन्छ उहाँहरुको अभाव !

उहाँहरुको देहान्तपछि त एक्लिन पनि सिकेँ नि ! त्यसैले पनि प्राण त्याग्ने बेला, एक्ली थिएँ म । सहाराविहिन । अनाथ जस्ती । तर मृत्यु मैले सोचेजस्तै थियाे । मैले खोजेजस्तै थियो । थला परेर वर्षौसम्म जिउँदै सड्नु परेन !

मलाई दुख्दा दुख्नेहरुले विलौना गर्दै मेरा शरीर छोएको, रोएको पनि देख्नु परेन !

शत्रुले अन्तिम क्षणमा नाटकिय रुपमा ‘च्वँ च्वँ’ गरेको समेत देख्नु परेन !

०००

अन्ततः रिपोर्ट पनि आयो– कोरोना संक्रमणबाट मृत्यु ! सबै निःशब्द थिए । तीन छक परे छिमेकी र घरबेटी ! मेरो निधनमा भन्दा पनि आफ्नो टोल, छिमेकमा कोरोना भित्रिएकोमा मलिन देखिन्थे सबै ।

कतिले त प्राण विनाको मेरो शरीरलाई गाली समेत गरे, मानौँ कि नेपालभर कोरोनाको बजार मैले नै थापेकी हुँ । विश्व बजारमा मैले नै फैलाएकी हुँ !

हुन त मेरा पनि गल्ती थिए केही…,

सायद, बिहान–बेलुकी सुरक्षित भएर हिँड्दी हुँ । भीडभाडमा नजाँदी हुँ । भगवान भरोसामा सडकका गल्ली नचाहार्दी हुँ । मास्क लगाउँदि हुँ । मिनेट–मिनेटमा साबुनपानीले हात रगड्दी हुँ । बारम्बार सेनिटाइजर घस्दी हुँ त जोगिन्थेँ कि संक्रमणबाट ! अडिन्थ्यो कि श्वास यो शरीरमा !

अब कसरी मुख देखाऊँ ती छरपस्ट सपनाका अगाडी, जसलाई मैले भरपुर आशा देखाउँदै थुमथुमाएर राखेकी थिएँ– पर्ख न, एकदिन त पुरा गरिहाल्छु नि ! यी मनको पीँजडाबाट भुर्रर उडाउनेछु । केही समय धैर्य गर !

प्राण चुँडिएको त्यो रात निकै मिस गरेकी थिएँ मैले तिमीलाई । साँच्चै सपना, ढाँटेकी होइन । म विवश थिएँ । पीडाले घिट्घिटाउँदै गर्दा काेही भएनन् अस्पताल लैजाने । बन्द कोठामा मेरो हालखबर सोध्न समेत आएनन् कोही ।

चिच्याउँदै रोएर हारगुहार मागेकी भए त कोही आउँथे होलान् नि भनौली फेरि । तिमीलाई पनि थाहा हुनुपर्ने हो– बाँचुन्जेल त भिख माग्न नजान्ने म, अन्तिम समय यो जीर्ण प्राण किन मागौँला कोहीसँग !

सपना ! कसैको दया होइन, प्रेम चाहन्थेँ म । तिमीलाई थाहा छ त, कसैले दयाले दिएका लुगाफाटा समेत घुसाइनँ मैले यो ज्यानमा । न त कसैले दयाले दिएका अन्न नै पर्न दिएँ यी पेटमा !

के माता–पीता नहुँदैमा कोही दयाको पात्र बन्छ र सपना ? के मेरो कामको मूल्यांकनका लागि पनि दया चाहिन्छ र ? पुग्दैन मेरो खटाइ ? इष्टमित्र, साथीभाई, आफ्ना–आफन्त, छरछिमेकीका प्रेम र सद्भावका लागि के मेरो आदर, सम्मान पर्याप्त छैन र ?

भन न सपना ! के म अपांग छु र, सबैको दया मैमाथि बर्साउन ? बौद्धिक कमजोरी छ म मा ? छैन, केही कमी छैन म मा र पनि किन देखाउँछन् दया ? किन मलाई नै पर्छन् विश्वासघाती मित्र ? म तीनीहरुको लायक थिइनँ या तीनीहरु मेरा लायक थिएनन् ?  सपना, यी सबै प्रश्न लिएर जाँदैछु आफूसँगै । यो स्वार्थी संसारबाट पर…निकै पर..,जहाँ मेरी आमा मेरो बाटो हेरेर बसेकी छिन् । जहाँ बाबाले आफ्नो गाँस कटाएर राखेका छन् मेरा लागि । आशा छ, उत्तर पाउनेछु ढिलो–चाँडो । आखिर आत्मा त जिवितै छ नि !

०००

साँच्चै यो मृत्यु बडो अचम्मको हुने रहेछ । कहाँ, कतिबेला, कुन समय, कस्तो परिस्थितिमा आउँछ पत्तै नुहने । एक मनले पनि सोचेकी थिइनँ कि, यो कलिलै उमेरमा मेरा पैतालाले स्वर्गको यात्रा तय गर्नेछन् । त्यो पनि यही महामारीमा, परिवारको मुखै नहेरी ! अकल्पनीय रूपमा ।

विदेशमा रहेकी दिदी सुनाउने गर्थिन्– ‘बहिनी, तँ नेपालमा छेस्, आफ्नो देशमा । आफन्त, साथीभाइ छन् तेरो नजिक । केही हुँदैन तँलाई । म पो विदेशमा छु । विरानो ठाउँमा, छैनन् कोही आफन्त र साथीभाइ । यतै मर्छु होला नानी यो महामारीमा !’

‘उल्टो पो भयो भविष्यवाणी । बहिनी मरिछे !’– सायद यतिबेला दिदीलाई ग्लानी हुँदो हो । यति त पक्कै बुझिन् होला– रोग र कालले सानो र ठुलो भन्दैन । स्वदेश र विदेश भन्दैन । आफ्ना र पराइ भन्दैन । साथीभाइ र आफन्त नजिक हुँदैमा राेगले नगिजोल्ने होइन, कालले नलाने होइन !

जो रोगको महामारीका समयमा चिकित्सकले भन्या मान्दैन, सामाजिक दुरी कायम गर्दैन । भिडभाडमा जान्छ । मास्क लगाउँदैन । साबुन पानीले हात धुँदैन, जो कमजोर छ उसैलाई लाग्छ भाइरस । जसको मानो पुग्छ, उही बन्छ यमराजको आहार । उही सजिन्छ भित्तामा, तस्विर बनेर । दिदी यति त बुझ्यौ होला है !

मलाई यी भौतिक शरीर गुमाएकामा ग्लानी छैन । बस् तिमीले रोग, भोक र मृत्युका कथनी बुझिदिए पुग्छ ।

तिमी बच्ची भयौ दिदी साह्रै, अब त आत्मबल बलियो बनाऊ है । ठुली बन है । ‘मेरा साथीभाइ छन् यहाँ, केही अप्ठेरो पर्यो भने सहयोग गरिहाल्छन् नि !’– यो कहिल्यै नसोच्नु दिदी । आफ्नो ख्याल आफैँ राख्नु । स्वास्थ्यका विषयमा हेलचेक्र्याइँ नगर्नु । आफूलाई दुःख पर्दा अन्तिम समय हुने आफूमात्रै हो । अप्ठेरो परेका बेला कोही हुँदैनन् साथ दिने । मैले पनि कसैलाई सहयोग नै नमागेकी कहाँ थिएँ र दिदी ?

कास्, तिनीहरुले सहयोग दिएका हुन्थे भने यो संसार अझै बुझ्न पाउने थिएँ कि ! म विना अधुरो रहेका ती सपनाको गगन चुम्ने इच्छामा उडान भरिदिने थिएँ नि ! तिमी विदेशबाट फर्किँदाको खुशी महशुष गर्न पाउथेँ हाेला ! तिम्रा काखमा सिरान हालेर बाबा, आमाको याद मेटाउन पाउथेँ होला ।

गरेनन् दिदी, कसैले सहयोग गरेनन् । साँच्चै स्वार्थी भएछ दिदी यो दुनियाँ ।

त्यो रात थाहा छ दिदी, म कति रोएकी थिएँ नि ! स्वास लिन यतिबिघ्न सकस परेको थिएन मलाई ! एक हप्ताअघि रुघाखोकी र ज्वरोले थिङ्थलो बनाएपछि ओछ्यानकै भर भो । उठ्बस् गर्न समेत सकिनँ । दिदी, सामान्य पेट दुख्दा तिमीले तताएर दिएको पानी खुब मिस गरेँ नि त्यतिबेला ।

एक हप्तादेखि भोकले मडारिएका थिए पेट, अब त विश्राम पाए यीनले पनि !

तिमीहरुको ओठमा मुस्कान छर्ने सपना पनि अधुरै रहे । दिदी, केही बिराएँ होला । चित्त पनि दुखाएँ होला । माफी दिनु है ।

०००

मनका गुनासा केलाउँदा केलाउँदै उता अन्तिम संस्कारको तयारी थालिसके छन् । म भने यो लकडाउनमा खटाइ–खटाइ खाएर जम्मा गरेका पैसा र आमाले बनाइदिएकि कानको मुन्द्री आफूसँगै लैजान मिल्छ कि भन्दै कोशिस गर्दै थिएँ, नमिल्ने पो रहेछ !

खै, मान्छे किन घमण्ड गर्ने रछन् बाँचुन्जेल । किन भन्दा रछन् रुपियाँ, धनसम्पत्ति । किन गर्दा रछन् तँछाड र मछाड ।

आखिर लान त सकिने होइन रैछ नि केही !

आफूले चाहेका चीज पाइएन लैजान…उता मास्क, टोपी, चस्मा, पञ्जासहितको पीपीई पहिरिएकाहरुले ती अबोध शरीरलाई प्लाष्टिकमा पोका पारी, एम्बुलेन्समा हालेर घाटतिर लगे । करिब ५ जनाको समूहले मेरा मृत शरीरलाई पशुपति आर्यघाटका चितामा लम्पसार पारे ।

टाढैबाट दिए फुलमाला र श्रद्धाञ्जली । पाइएन दागबत्ती ! न त रुने मान्छे नै पाइयो ! आगो लाउने समेत आफ्ना परेनन् । चिन्दै नचिनेकाले चितामा आगो सल्काए । आत्था ! पोल्यो !

अहो, म त ओछ्यानमै रहेछु । त्यो पनि जिउँदै, चलमलाउँदै । अचम्म !

घामका किरण चियाउँदै रैछन् झ्यालबाट । पर्दा हटाउँदै थिएँ, बाहिर मधुर आवाजमा गुन्जिँदै रहेछ एउटा कालजयी गीत– आजै र राति के देखेँ सपनी, मै मरी गएको…! मै मरी गएको…!

धत् कस्तो नराम्रो सपना देखेछु !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *