चौरजहारी घटना : वडाध्यक्षसहित २३ जनालाई थुनामा राख्न अदालतको आदेश

काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी घटनाका २३ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

बुधवार जिल्ला अदालत रुकुम पश्चिमले चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल र केटीका बाबुसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

केटीकी आमालाई भने १ लाख धरौटीमा छाड्न तथा अन्य तीन जना अभियुक्त इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्दलाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको छ।

असार ५ गतेदेखि थुनछेक बहस सुरु भएको थियो । बुधवार अबेर उक्त बहस सकिएको हो। ५ जना सरकारी वकिल र जाहेरीवालाको तर्फबाट ३ जना वरिष्ठ अधिवक्तासहित २० जनाले बहस गरेका थिए।

यसअघि असार १ गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं ८ सोती गाउँकी १७ वर्षीया किशोरी र उनका भाइलाई नाबालक भएको हुँदा तत्कालका लागि सुधार गृहमा पठाउन अदालतले आदेश दिएको थियो।

जेठ १० गते जाजरकोटका ५ र रुकुम पश्चिमका १ सहित ६ जनाको ज्यान जानेगरी भएको घटनामा रुकुम पश्चिमको चौरजहारी नगरपालिका – ८ सोती गाउँका वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटी र उनका बाबु आमासहित ३४ जना विरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र छुवाछुत विरुद्धको कसुरमा अदालतमा मुद्दा दायर भएको थियो ।

३४ जना प्रतिवादी रहेकामा ५ जना भने फरार रहेका छन् ।

जाजरकोटका २१ वर्षीय नवराज विकसहित ६ जनाको शव हत्या गरी फालिएको अवस्थामा भेरी नदीमा फेला परेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *