‘अप्ठ्यारोमा परेका श्रमिकको उद्धार अविलम्ब गरियोस्’ : काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले विदेशमा काम गर्न गएर अलपत्र परेका, समस्यामा परेका, भिसा र करारको म्याद सकिएका कामदारलाई जति सक्दो छिटो स्वदेश ल्याउनका लागि अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभा सांसद एवं काँग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै त्यस्ता कामदारको उद्धार गर्न सर्वप्रथम जुन कम्पनीमा कामदार कार्यरत छन्, तिनैलाई उद्धार गर्न लगाउनु पर्ने उल्लेख गरेकी छिन् । सम्बन्धित कम्पनीले उद्धार गर्न सकेन वा चाहेन भने सम्बन्धित देशको सरकारलाई गराउनु पर्ने र सम्बन्धित देशको सरकारले पनि गरेन भने ढिलाई नगरी नेपाल सरकारले उद्धार गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा गएर अलपत्र परेका कामदारलाई उद्धार गर्ने अन्य कुनै कोष वा सहयोग नभएमा सर्वोच्च अदालतले असार १ गते गरेको अन्तरिम आदेश अनुसार राज्य कोषबाट प्राथमिकताका आधारमा तत्काल उद्धार गर्नुपर्ने पत्रमा उल्लेख छ । कोभिड-१९ बाहेकको कारण समस्यामा परेका, बिरामी, घाइते, गर्भवती, सुत्केरी तथा अन्य नेपाली कामदारको उद्धारका लागि पनि पहिला कम्पनी, त्यसपछि सम्बन्धित देशको सरकार र नभए नेपाल सरकारले उद्धार गर्न अविलम्ब कार्ययोजना ल्याउन ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ ।

सांसद सङ्ग्रौलाले विदेशबाट नेपाली कामदारको उद्धार गरेर ल्याउनु अघि उनीहरुले पाउनु पर्ने तलब, बीमा, उपदान, बिरामी बिदा लगायतका सुविधा पाए-नपाएको पत्ता लगाएर नपाएको भए सरोकारवाला कम्पनीहरुलाई दिन लगाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएकी छिन् । स्वदेश ल्याइसकेपछि सक्ने कामदारले क्वारेन्टाइनको व्यवस्था आफैँ गर्ने र नसक्ने कामदारका लागि सम्बन्धित प्रदेश सरकार तथा पालिकाहरुसँग समन्वय गरी निःशुल्क क्वारेन्टाइनको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

कोरोना बाहेकका कारणले ज्यान गुमाएका नेपाली श्रमिकहरुको शव व्यवस्थापन तत्कालै गर्न आवश्यक रहेको र दाहसंस्कारका लागि स्वदेश ल्याउने वा सम्बन्धित मुलुकमै गर्ने विषयमा परिवारसँग स्वीकृत लिई सो काममा ढिलाइ गर्न नहुने सो ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

तत्काल नेपाल फर्किन नचाहने तथा गन्तव्य मुलुकमा काम गरिरहेका श्रमिकहरुको हक, उनीहरुको खाना, बस्न, औषधोपचार, तलब लगायतको सेवा सुविधाको ग्यारेन्टी भए-नभएको सम्बन्धित नेपाली दूतावासमार्फत बुझ्न लगाई यदि ती सुविधा नभएको भए दिलाउने व्यवस्था गर्नसमेत उनले सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फिर्ता गर्न काँग्रेस सांसदहरु गगनकुमार थापा प्रस्तावक तथा प्रकाश स्नेही र सङ्ग्रौला समर्थक रहेको सार्वजनिक महत्वको प्रस्ताव गत वैशाख २९ गते प्रतिनिधिसभामा दर्ता गरिएको थियो ।

त्यस्तै सांसद सङ्ग्रौलाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई यसअघि दुई महिनामा दुई पटक भेटेर विदेशमा अलपत्र परेका नेपालीलाई छिटो स्वदेश फिर्ता ल्याउनेबारे ज्ञापनपत्र बुझाइसकेको जानकारी गराएकी छिन् । त्यस यता सरकारले चार्टर्ड उडान गरी खाडी लगायतका मुलुकहरुबाट नेपालीहरूलाई स्वदेश ल्याउने क्रम शुरु गरिसकेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *