‘श्री ३ शैलीको सामन्ती प्रवृत्तिका कारण ओलीको विरोध’

काठमाडौं । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको सामन्ती प्रवृत्ति तथा श्री ३ शैलीकै कारण विरोध भएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । प्रम ओलीले भ्रष्टाचार काण्डको छानविन र भ्रष्टाचारीलाई सजाय नदिएका कारण उनी आफ्नै शुभचिन्तकहरु नै टाढा भएको उनको दाबी छ ।

उनले लेखेका छन्, ‘सम्माननीय प्रधान मन्त्रीज्यू, तपाईँको विरोध तपाईँकै श्री ३ शैलीको अधिनायकवादी र सर्वसत्तावादी संस्कार, भ्रष्टाचारलाई राजनीतिको प्रमुख अंग सम्झने प्रवृत्ति र आफ्ना भारदारहरुलाई देश जति लुटे पनि लुट्न छुट दिने तपाईँको नव सामन्ती प्रवृत्तिको कारण हो ।’

सामाजिक सञ्जालमा उनले राखेको धारणा जस्ताको तस्तैः

सम्माननीय प्रधानमन्त्रीजी

१. विदेशी र स्वदेशी मिलेर नेपालको नयाँ नक्सा जारी गरेबापत तपाईँलाई हटाउन प्रयास हुँदैछ भन्ने तपाईँको आरोप पढियो ।

२. तपाईँको विश्लेषण गलत छ, किनभने तपाईँलाई हटाउन तपाईँ आफैँ कसिएर लाग्नुभएको छ । एक पटक शान्त भएर आफु ले आफूलाई हेर्नुस्, थाहा पाउनु हुनेछ ।

३. ठिक कुरामा जनता र दलहरुले तपाईँलाई सधै साथ दिएका छन् । तपाईँले भद्र भलादमी प्रतिपक्ष पाउनु भएको छ, जो तपाईँको हत्तपत्ति विरोध गर्दैनन् । नयाँ नक्साको बारेमा तपाईँको पार्टी र अन्य सबै पार्टी तथा आम नेपाली जनताले तपाईँलाई साथ दिएका छन् । विचार गर्नुस्: कुनै विदेशीको मुख हेरेको भए यो एकता सम्भव हुने थिएन र संसदबाट सिमाना सम्बन्धि प्रस्ताव निर्बिरोध पारित हुने थिएन । यो देख्दा देख्दै अरुलाई विदेशीबाट संचालित भन्नु तपाईँ बाहेक अरु कोहि नेपालमा देशभक्त छैनन् भन्नु हो । यो भनाइले तपाईँ सबै नेपाली जनताको अपमान गर्दै हुनुहुन्छ । आफू बाहेक अरु सबैलाई विदेशीबाट संचालित छन् भन्ने दृष्टिकोण तपाईँको कमजाेर र हतास मनस्थिति को परिचायक हो ।

४. तपाईँको विरोध तपाईँको श्री ३ शैलीको अधिनायकवादी र सर्बसत्तावादी संस्कार,  भ्रष्टाचारलाई राजनीतिको प्रमुख अंग सम्झने प्रवृत्ति र आफ्ना भारदारहरुलाई देश जति लुटे पनि लुट्न छुट दिने तपाईँको नव सामन्ती प्रवृत्तिको कारणले हो ।

प्रजातन्त्रको नाममा आज को नयाँ पिढीले तपाईँको भारदारी सासन स्वीकार गर्दैनन् । यदि म गलत हुँ भने तपाईँले ओम्नी काण्ड,  यति जग्गा काण्ड,  वाइडबडी जहाज कमिसन काण्ड, न्यारो बडी हवाई जहाज काण्ड, सुन काण्ड, एनसेल काण्ड जस्ता अनैकाैँकाे न्यायिक छानबिन गर्ने घाेषणा गर्नुस् । साथै सबै दलका नेताहरुको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर्ने हिम्मत गर्नुस् । तर यो दुई वर्षमा सबैले देखिसके तपाईँ यो नवसामन्तवादमा अडेको । ‘नौलो बहुदलिय भारदारी जनबाद’ अन्त गर्ने नैतिक हिम्मत तपाईँमा छैन । त्यसैकारण तपाईँका शुभचिन्तकहरु पनि तपाईँबाट देश चल्दैन भन्ने निचोडमा पुगेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *