सुस्मिता मृत्यु प्रकरणः सासू–ससुरा र नन्द मिलेर हत्या गरेको पुष्टि, यसकारण गरियाे हत्या

काठमाडौं । आफ्नै घरको भान्छाकोठामा मृत अवस्थामा फेला परेकी सुस्मिता थापाको हत्यामा संलग्न अभियुक्त सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज (सोमबार) सुस्मिताको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका उनकै सासु–ससुरा र नन्दलाई सार्वजनिक गरेको हो ।

प्रहरी अनुसन्धानमा ससुरा प्रकाश थापा, सासु तुलसा थापा, नन्द सीता थापा र आमाजू दुर्गा थापाले नै हत्या गरेको पुष्टि भएपछि सार्वजनिक गरिएको हो । गत असार २ गते हेटौंडा–४, सूर्यचौकस्थित आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् सुस्मिता । परिवारले सुस्मिताले आत्महत्या गरेको भन्दै छिमेकीलाई खबर गरेपछि छिमेकीले प्रहरीलाई बोलाएका थिए । अनुसन्धानबाट उनको हत्या भएको खुलेको थियो ।

सुस्मिताको घरपक्षका परिवारले आत्महत्या भनेर दाबी गरेपछि माइती पक्षले भने हत्या भएको आरोप लगाउँदै आएका थिए । उनको हत्याअभियोगमा मकवानपुर प्रहरीले शुक्रबार उनका ससुरा, सासू, नन्द र आमाजुलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनीहरुले हत्या गरेको पुष्टि तथा स्वीकार गरेपछि सार्वजनिक गरिएको हो ।

के थियो घटना ?

मकवानपुरका रूपेन्द्र थापा र कपिलवस्तुकी सुस्मिता क्षेत्रीबीच गत वर्ष वैशाख १८ गते विवाह भएको थियो । दशैंमा श्रीमानसहित सुस्मिता माइती गएकी थिइन् । उनी केही दिन त्यहीँ बस्ने भनेपछि रुपेन्द्र एक्लै घर फर्किएका थिए । घर फर्कने क्रममा दुर्घटनामा परी उनको मृत्यु भएको थियो ।

रुपेन्द्रको मृत्युपछि सुस्मिता घरमा बस्न सकिनन् सासु ससुराले दिएको मानसिक तनावका कारण । उनीमाथि ससुराले बलात्कार प्रयास समेत गरेका थिए । त्यसपछि उनी माइती फर्किइन् । गत चैतमा श्रीमानको ६ महिनाको श्राद्ध गर्न उनी हेटौंडा आइन् । त्यसयता उनी घरमै बसेकी थिइन् । असार २ गते उनी भान्छाकोठामा मृत फेला परिन् । प्रहरीमा उजुरी पुगेपछि अनुसन्धान थालियो । अनुसन्धानपछि हत्याराको पहिचान भएको हो ।

कसरी भयो हत्या ?

मकवानपुर प्रहरीका अनुसार असार २ गते बिहान साढे ६ बजेतिर हेटौंडा–४ कर्रास्थित सूर्य चोकमा २४ वर्षीया सुस्मिताले भान्सा कोठामा आत्महत्या गरेको प्रहरीलाई खबर आएको थियो ।

खबर पाउनासाथ त्यहाँको वडा प्रहरी घटनास्थल पुग्यो । भित्रबाट चुकुल लगाएको कोठामा लास देखिएपछि हेटौंडा अस्पतालका डाक्टरसहित मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौर पनि त्यहाँ पुगे । घटनाको अवस्था नियालेको प्रहरीले हत्या भएको निष्कर्षमा पुग्यो । माइती पक्षलाई पनि खबर गरियो । कुकुर ल्याएर अनुसन्धान थाल्यो ।

अर्को दिन माइती पक्षले सुस्मिताका परिवारविरूद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिए । डिएसपी इन्द्रबहादुर रानाको नेतृत्वमा अनुसन्धान टोलीले काम थाल्यो । अनुसन्धानबाट हत्या भएको पुष्टि भयो ।

असार १ गते राति साढे ९ बजेतिर सुस्मिताका ससुरा प्रकाश थापाले रक्सी खाएका थिए । खाना खाएर उनी सुत्न गए।

सासूससुराले खाना खाइसकेपछि सुस्मिता र उनकी नन्द सीता थापा भान्छामा छिरे । त्यतिबेला सुस्मिता महिनावारी भएकी थिइन् । उनी भुइँमै बसेर खाना खान थालिन् । त्यही बेला ससुराले काठको लौरोले बुहारीको टाउकोमा हाने, सुस्मिता भुइँमा लडिन् । त्त्यसपछि नन्द सीता थापाले समेत मसला पिस्ने लोहोरोले भाउजुमाथि प्रहार गरिन् । सुस्मिता बचाउ-बचाउ भन्दै कराइन् । आवाज सुनेर सासू तुलसा थापा भान्छामा छिरिन् । बाबु छोरीले तुलसालाई बाहिर निकाले र घाइते सुस्मितालाई निर्ममतापूर्वक पिटिइरहे ।

त्यसलाई आत्महत्या देखाउन बाबु छोरी मिली भान्छा कोठामै भएको कपडाको चकटीले मृतकको निधारमा भएको घाउ छोपी विभिन्न स्थानमा लागेका रगतहरू पुछे । सबै व्यवस्था मिलाएपछि रगत लागेका लुगा धोएर बाबु छोरी सुत्न गए । अर्को दिन सुस्मिताले आत्महत्या गरेको हल्ला फैलाएकाे प्रहरी अनुसन्धान रिपोर्टमा भनिएको छ ।

परिवारले नै किन गरे हत्या ?

प्रहरीको अनुसन्धानले सुस्मिताको हत्याका पछाडि तीन वटा कारण रहेको देखाएको छ । पहिलो, सासू-ससुराले आफ्नो छोरो सुस्मिताकै कारण मरेको भन्दै उनलाई मानसिक तनाव दिइरहेका थिए । अर्काे भनेकाे आफूले गरेको बलात्कारको प्रयासबारे बुहारीले बाहिर भन्ली भन्ने ससुरालाई डर थियो । प्रहरीका अनुसार त्यही कारण उनी बुहारीलाई मार्न चाहन्थे ।

सुस्मिताको हत्या हुनुको अर्को कारण रूपेन्द्रको मृत्युपछि पाइने रकम भएकाे पाइएकाे छ । रूपेन्द्रकाे सवारी दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिवापत पाएको पाँच लाख रुपैयाँ सुस्मिताले नभई हामीले पाउनुपर्छ भनेर परिवारले अडान कसेका थिए । रूपेन्द्रले काम गर्ने क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाइने बिमा, बोनस, तलब भत्ताको बाँकी रकम ३८ लाख २८ हजार भुक्तानी लिने विषयमा हकवालाहरू सासु, ससुरा र सुस्मिता क्षेत्री थापाबीच विवाद भएको कारण हालसम्म भुक्तानी हुन नसकेको देखिएकाे प्रहरीले जनाएकाे छ ।

रूपेन्द्रका नामबाट सुस्मितालाई आउने सबै रकम आफूलाई दिन परिवारले बारम्बार उनलाई दबाब दिने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । यसै कारण हत्या भएकाे देखिएकाे छ ।

के हुन्छ सजाय ?

यसरी क्रुर तरिकाले सुस्मिताको हत्या गर्ने चार जना अभियुक्तलाई मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा ४१ (क) बमोजिम क्रुर यातना दिई ज्यान मारेको कसुरमा जीवित रहेसम्म कैद हुने गरी जन्मकैद हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *