विदुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नुवाकोट । विदुर नगरपालिका-५ गङ्गटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक विदुर नगरपालिका-३ खड्गभञ्याङका २१ वर्षीयका ठाकुर अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा चक्रदेव पोलिक्लिनिक विदुरमा मृत्यु भएको हो । दुर्घटनामा विदुर नगरपालिका-५ देवीघाटका २८ वर्षीय सुरेन्द्र चित्रकार घाइते भएका छन् । उनको अहिले सोही पोलिक्निकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।

उनीहरु चढेको बा ९८प ५५१६ नंको मोटरसाइकल गङ्गटेमा अनियन्त्रित हुँदा राति ८:३५ बजेको समयमा सडकबाट करिब १० मिटर तल पुगेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *