‘बर्थ-डे’ पछि उज्यालो हुन पाएन

पोखरा । पोखरा सराङकोटकी पिंकी थापा मगरले गते र बार एकै दिन परेपछि बिहीबार पहिलोपल्ट आफ्नो जन्मदिन मनाउने सुर कसिन् । बुबाआमाले आफन्त र छरछिमेकलाई बोलाए । खुसी मनाए । २१ पुगेर २२ टेकेकी पिंकीको खुसी आधी रातमा खोसियो । घरमाथिबाट पहिरो खस्यो । जन्मदिनको उत्सवमा जुटेका पाँच जनाले तत्कालै ज्यान गुमाए ।

पिंकीले ५० वर्षीय बुबा टंकबहादुर र ४५ वर्षीया आमा सोममायालाई गुमाइन् । पाहुना आएकी सोममायाकी बहिनी सरस्वती श्रेष्ठले आठ वर्षीय छोरा शीतल श्रेष्ठलाई गुमाइन् । टंकबहादुरका माइला दाइ शेरबहादुरले ६ वर्षीय नाति सुवान थापा र ११ वर्षीया नातिनी इशीका राईलाई गुमाए । शुक्रबार बिहान साढे २ बजे खसेको पहिरोले पोखरा–१८ सराङकोटको गोठादी गाउँ मृत्युको शोकमा डुब्यो ।

तनहुँ सागे गिरेपानीबाट बिहीबार पिंकीको जन्मदिन मनाउन सरस्वती दुई छोरा शीतल र सन्देशलाई लिएर आएकी थिइन् । चार दिन यतै बस्ने, बहिनी र दिदीका दुई छोरीलाई गाउँमा लिएर जाने योजना थियो उनको । ज्यान गुमाउने सुवान र इशीका हजुरआमा रत्ना थापासँग पछि लागेर पिंकीको घरमा पुगेका थिए । जन्मदिनमा आएका पिंकीकी फुपू चिजा गुरुङ, सुस्मिता गुरुङ, माइलाबुबाको छोरा श्याम थापा, छिमेकी राजेन्द्र थापा भने खानपिन गरेर घर फर्किएका थिए । बाँकी १३ जना दुईवटा कोठामा बाँडिएर सुतेका थिए ।

टिनले छाएको तीन कोठे घरको एउटा कोठामा पिंकीका बुबा, आमा, सरस्वती र उनका दुई छोरा, श्यामका छोरा सुवान सुते । राति ११ बजे पिंकी र उनकी छोरी पिरिसा, पिंकीकी बहिनी आशा, माइलाबुबाको कान्छा छोरा रसी र उनको साथी अनिश तामाङ, साइलाबुबाकी छोरी रश्मिसहित सात जना अर्को कोठामा बसेका थिए । केही बेरमै सबै मस्त निद्रामा परे । एक्कासि चटयाङको आवाजले निद्रा भंग गरिदियो । सरस्वतीले जेठो छोरा १० वर्षीय सन्देश ‘मम्मी, मम्मी’ भन्दै चिच्याएको सुनिन् । दिदी सोममायाले ‘सरस्वती, सरस्वती’ भन्दै कताकता बोलाएको सुनिन् । उनलाई भने केले केले थिचेको जस्तो भयो । ‘यसो आँखा खोलेर हेरेको बाहिर उज्यालो थियो,’ मणिपाल अस्पतालमा उपचार गरिरहेकी उनले भनिन्, ‘माथितिर हेरेको पहिरो खसिरहेको देखें । मैमाथि आकाश खसेजस्तो भयो ।’

पहिरोले १९ वर्षीय रसी र उनका दामली अनिशलाई हुत्याएर मकै बारीमा पुर्‍याएको थियो । हिलैहिलोबाट निस्किएर उनीहरू गुहार माग्न दौडिएका थिए । उनीहरूबाटै थाहा पाएपछि छिमेकी र आफन्त उद्धारमा खटिए । १८ वर्षीया आशाको ओठ, कान र हातमा गहिरो चोट लागेको छ । घाइतेमध्ये १९ वर्षीया रश्मि थापा मगरको अवस्था गम्भीर छ । उनको छाती र शरीरका विभिन्न भागमा चोट लागेको छ । बाँकीको अवस्था खतरामुक्त छ ।

घाइतेको उद्धारमा सराङकोटमा रहेको प्रहरी बिटबाट दुई प्रहरी शुक्रबार ४ बजेतिर पुगेका थिए । पछि ६ बजे सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा पुगेको थियो । उनीहरूले घटनास्थलबाट पाँच जनाको शव निकाले । घाइते आठ जनामध्ये पिंकीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र बाँकीलाई मणिपाल शिक्षण अस्पताल पुर्‍याए । बागलुङ बसपार्कबाट गोठादी जाने बाटोको ३–४ ठाउँमा खसेको पहिरो पन्छाउँदै जानुपरेकाले केही समय लागेको प्रहरीले जनाएको छ ।

घाइते पिंकीको दुईवटै खुट्टा भाँच्चिएको छ भने पाँच वर्षीया छोरी पिरिसाको देब्रे खुट्टा । म्याग्दी घोडेपानीका सन्तोष थापासँग उनको बिहे भए पनि सम्बन्ध धेरै समय टिकेन । घटना थाहा पाएर पनि श्रीमान् भेट्न आएका छैनन् । ‘श्रीमान्ले साथ छोडिहाले, बुबाआमाले पनि संसार छोड्नुभयो,’ भक्कानो छोड्दै उनले भनिन्, ‘अब म कहाँ जाने रु’ ज्यान गुमाएका पाँचै जनाको शुक्रबार नै सामूहिक दाहसंस्कार गरिएको छ ।

शुक्रबार पहिरोले पुरेको घर मोटरबाटोबाट झन्डै डेढ सय मिटर तल पर्छ । १५ किलोमिटर सडकमध्ये आधा यसअघि नै कालोपत्रे भइसकेको छ । चालु आर्थिक वर्षमा हाल पहिरो गएकै स्थान पँधेलीसम्म कालोपत्रे गरिसक्नुपर्ने सम्झौतामा छ । ठेकेदारले लकडाउनको बहाना बनाउँदै बाटो आधाकल्चो छोडेका छन् । महानगरपालिकाबाट उल्टै म्याद थप गरेका छन् । १५ दिनअघि पनि बाटोमाथि खसेको सानो ढिस्कोले पानी बग्ने नाला र ह्युमपाइप पुरेको थियो ।

बिहीबार रातिको पानीले बाटोको तलपट्टिबाट उकासेको प्लम्बिङ वाललाई खोतल्दै लगेको र घरमाथि बजारिएको मृतक टंकबहादुरका दाइ शेरबहादुर थापाले बताए । पहिरो हटाउन कसैले वास्ता नगर्दा भाइको परिवारले ज्यान गुमाउनुपरेको उनको भनाइ छ । ‘पर्खालको जग पनि बलियो गरी बनाएको रैन्छ,’ उनले भने, ‘यो ठेकेदारको कमजोरी हो ।’ ठेकेदार कम्पनीले चार महिनाअघि उक्त वाल लगाएपछि बाटो स्तरोन्नतिको अन्य काम गरेको छैन । उक्त बाटोको ठेक्का निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठको कम्पनीले पाएको छ । पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापाले मजदुर अभावमा ठेकेदारले काम अघि बढाउन नसकेको दाबी गरे । कान्तिपुरबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *