सरकारले मापदण्ड बनाइदिए छायांकनको तयारीमा छन् यी चलचित्र

काठमाडौं । सरकारले मंगलबारदेखि लकडाउन अन्त्य भएको घोषणा गरेपनि केही क्षेत्र अझै बन्दकाे अवस्थामा छन्, जसमा चलचित्र क्षेत्र पनि पर्छ । हलहरू खाेल्ने अनुमति नदिँदा निर्माण भइसकेका चलचित्रहरू फ्लाेरमा जान पाएका छैनन् भने बन्दै गरेका चलचित्रकाे पनि छायांकन राेकिएकाे छ ।

आफ्नो कर्म क्षेत्र बन्द रहँदा कलाकारहरु बेरोजगार जतिकै भएका छन् । काममा फर्कन नपाउँदा कति कलाकारले आक्रोश पोखिरहेका छन् भने कतिले काममा फर्कने चाहना व्यक्त गरिरहेका छन् । सरकारले मापदण्ड ताेकिदिएर कामकाे अनुमती दिए कति कलाकर्मीहरू चलचित्रको छायांकनका लागि फर्कने तयारीमा छन् । उनीहरूले मापदण्ड बनाइदिन सरकारसँग माग समेत गरेका छन् । 

सम्बन्धित पक्ष गम्भिर नहुँदा करिब दर्जन बढि चलचित्रका निर्माताहरुले छायांकनको प्रारम्भ गर्ने भएका छन् । अभिनेत्री तथा निर्माता रेखा थापाले नयाँ चलचित्रको काम सुरु गर्ने भएकी छिन् । जसमा उनी स्वयम् र सौगात मल्ल लगायतका कलाकारको मुख्य भूमिका रहने छ ।

त्यस्तै, रोज राणाले पनि आफ्नो नयाँ चलचित्र ‘खलनायक २’ को छायांकन सुरु गर्ने भएका छन् । चर्चित निर्देशक मिलन चाम्स पनि नयाँ चलचित्रको छायांकनको तयारीमा रहेका छन् । लकडाउनको समयमै लोकेशन हेरिरहेका चाम्सले नयाँ चलचित्रलाई नेपाल र मलेसियाका विभिन्न ठाउँमा खिच्ने भएका छन् ।

यसैगरी निर्देशक विकासराज आचार्य लकडाउन खुलेपछि  चलचित्र ‘नाई नभन्नु ल ६’ सुरु गर्ने तयारीमा छन् । शर्मिला पाण्डेको निर्माणमा बन्न लागेको चलचित्र निर्देशक दीपेन्द्र के खनाल सरकारबाट अनुमती पाएपछि छायांकनको सुरु गर्ने तयारीमा रहेका छन् । उनले निर्माण गर्न लागेकाे चलचित्र सामाजिक कथावस्तुमा आधारित छ । निर्माता किरण नेपाली ‘२ नम्बरी’ अगाडि नै नयाँ चलचित्रको छायांकनमा जाने तयारीमा छन् । यस्तै, निर्देशक सुरेन्द्र पौडेले पनि चलचित्र ‘बेञ्जो’ को छायांकनमा जाने तयारीमा छन् ।

यी बाहेक लकडाउनका कारण रोकिएका आधा दर्जन चलचित्रको छायांकन पनि लकडाउन खुलेसँगै सुरु हुनेछ । तर सरकारले अहिलेसम्म चलचित्र छायांकनका लागि अनुमती नदिँदा चलचित्रकर्मीहरु अन्यौलमा छन् । चलचित्रको छायांकन सुरू गर्नका लागि सरकारलाई दबाब दिन आवश्यक रहेको चलचित्रकर्मीहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *