कांग्रेस नेता प्रदीप पौडेलले लिए आमाबाबु गुमाएकी अमिनाको शिक्षाकोे जिम्मा

दमौली । पहिरोले पुरिएर आमाबाबु गुमाएकी तनहुँको ऋषिङ गाउँपालिका-८ भैसिकिलेकी ६ वर्षीया बालिका अमिना थापाको शिक्षाको जिम्मेवारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लिने घोषणा गरेको छ ।

शनिबार पीडितको घरमा पुगेर उनले बालिका थापालाई कक्षा १२ सम्म अध्ययन गराउने व्यवस्था मिलाउने जानकारी दिए । अमिना सोही वडाको बालशिक्षा निकेतन माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत छिन् । गतअसार २९ गतेको पहिरोले पुरिएर बालिकाको बुवा ३० वर्षीय भेषबहादुर थापा र आमा २९ वर्षीया नानुमाया थापाको अकालमा निधन भएको थियो ।

पहिरोले पुरिएर अमिनाकी बहिनी ५ वर्षीया अमिषा थापा, काका वर्षीय महादेव थाापा र काकी १९ वर्षीया मनिसरा थापाको समेत निधन भएको थियो । कांग्रेस केन्द्रीय सदस्य पौडेलले पहिराले पुरिएर एकै परिवारका ५ जनाको निधन भएको घटना दुःखद् रहेको र शोकको घडीलाई शक्तिमा बदल्न पीडित परिवारलाई आग्रह गरे ।

यसैगरी तनहुँ युवा सञ्जाल र नेपाल रेडक्रस सोसाइटी कोटदरबारको सक्रियतामा अमिनाको शिक्षामा सहयोग पुर्‍याउन २ लाख २१ हजार २५ सङ्कलन भएको छ । उक्त रकम अमिनाको बैंक खाता खोली जम्मा गरिने सोसाइटीका उपशाखाका सभापति इन्द्रबहादुर आलेले जानकारी दिए । अमिनाको स्याहारसुसार हाल हजुरबुवा आम्बबहादुर थापाले गर्दै आएका छन् ।

भैँसीकिलेमा थापा परिवारको चार घर बसोबास गर्दै आएको छ । उक्त ठाउँ पहिरोको जोखिममा रहेकाले ऋषिङ गाउँपालिकाले पीडित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न पहल गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *