मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

केपी र पिकेको झगडा भारुन्डको कथा

महाभारतको भीष्म पर्वमा भारुन्ड नाम गरेको एउटा हाँसको कथा छ । भारुन्डको दुईवटा टाउको तर पेट चैं एउटै थियो । पेटमात्र हैन शरीरका अन्य अंगहरु पनि एउटै थिए । दुवै अति घमण्डी । अहिले नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल जस्तै । पार्टी एउटै, विचार फरक, सोच फरक । एउटा बालुवाटार बस्छन्, अर्को खुमलटार ।

भारुन्ड हाँसकै कुरा गरु,
भारुण्ड हाँसको शरीर एउटै भएपनि सोच्ने शक्ति, हेर्ने दृष्टि र सुध्ने क्षमता फरक थिए । टाउको दुईटा भएपछी खाने मुख पनी दुईटा नै हुने भयो । एकले अर्काको बद्ख्वाई गर्दै उनीहरुको दिन जान्थ्यो । चारा पनी जसले भेट्यो उसैले मात्र खाने । एकले अर्कोलाई ‘जसले खाएपनी एउटै पेटमा त जाने होनी’ भन्थे । र, सत्य पनी त्यहि थियो । टाउका अगल भए पनी अघाउने पेट त एउटै थियो । तर, फरकफरक मस्तिष्क भएकाले त्यो कहाँ भेउ पाउथे र ?

एकदिन तिनीहरु समुन्द्रका छेउ डुल्दै थिए । एउटा टाउकोले समुन्द्रका तटमा अमृतरुपी फल भेट्यो । अर्कोले देख्ला कि, भनेर हतारहतार निल्यो र भन्यो ‘मैले अमृत खाएँ ।’ अर्को टाउकोले न्यिाउरो मुख लगाउँदै भन्यो ‘मलाई चाख्न देको भए के हुन्थ्यो ?’
अमृतफल खाएकाले भन्यो–‘जसले खाएपनि के भोर पेट त एउटै हो ।’

अमृत फल खान नपाएको टाउको खिन्न भयो ।

अर्को दिन पुनः उही समुन्द्रमा फल खोज्न गए । अकस्मात अघिल्लो पटक अमृत फल चाख्न नपाएको टाउकोले विष फल भेट्यो । उसले दाँया बाँया सोच्दै नसोची कपाकप खायो र भन्यो–‘मैले विषफल खाएँ ।’
क्षणभरमै दुवै मृत्युलोक पुगे ।

बर्तमान राजनीतिक परिवेशमा सत्तारुढ नेकपाको हालत भारुण्डी हाँसकै जस्तो भएको छ । नेकपा नाम गरेको पार्टी एउटै भएपनी तिनका टाउका दुईटा छन् । एउटा टाउको केपी शर्मा ओलीको, अर्को पुष्पकमल दाहालको । यी दुई टाउकाको सोच्ने क्षमता, खाने क्षमता, बोल्ने क्षमता सबै फरक छ । एउटालाई उखान टुक्का भन्न मन लाग्छ, अर्कोलाई लाग्दैन । एउटालाई क्रान्तिको कुरा गर्न मन लाग्छ अर्कोलाई लाग्दैन ।

दुई फरक परिवेश र परिस्थितिबाट एउटै भएकाहरुको एकताले आज नेकपालाई नजन्मिदै अर्थात् एकताको महाधिवेशन समेत नहुँदै मृत्यु शैया तर्फ लैजाँदै गरेको छ । त्यसमा नेकपाका अरु नेता कार्यकर्ताको भन्दा बढ्ता दोष भारुन्ड रुपी दुई अध्यक्षकै छ ।

एकले अर्काको अस्तित्व नस्विकार्ने परिपाटी र व्यवहारले आज नेकपा अवसानको बाटोमा लम्किइरहेको छ । उनीहरु एकले अर्कोलाई खुइल्याउने, सिध्याउने पछार्ने दाउमा यसरी सकुनी पाशा फ्याली रहेका छन् कि, जसले हारेपनी जसले जिते पनी समाप्त हुने नेकपा नै हो । यो कुरा स्वयं दुई अध्यक्षलाई स्पष्ट थाहा छ ।

तरपनी, एउटा टाउकोलाई म बाहेक यो संसारमा अरू कोही छँदै छैन, मैले क्रान्ति गरेर मुलुकमा परीवर्तन ल्याएको भन्ने दम्भ छ । अर्को टाउकोसँग आफ्नै कारणले दुई तिहाई आएको, आफु मात्र सच्चा राष्ट्रवादी अरु सबै अराष्ट्रवादी भन्ने भ्रम छ । जसले नेकपालाई पतनको मार्गमा लगिरहेको छ ।

२०७४ सालमा सम्पन्न तीनै तहको आम निर्वाचन अघि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र दुवैको हैसियत हामी सबैले देखेकै हौं । सत्ताको लुछाचुँडीमा अल्झिएका दुवै कम्युनिस्ट पार्टीहरु एकले अर्कोलाई यतिसम्म खुइल्याउने गर्दथे कि, आ–आफुले लगाएको सुरुवाल फुस्कँदा समेत कराउन छोड्दैनथे ।

प्रष्ट भन्नुपर्दा नेपालका कम्युनिस्टहरुले पटक–पटक अस्थायी सरकारको चपेटामा परेका जनतालाई स्थायी सरकारको ललिपप देखाएर सत्तामा पुग्ने भर्याङ मात्र बनाएका रहेछन् । यिनीहरुमा देश र जनता प्रति जिम्मेवारी छ भन्ने त एकरत्ति पनी देखिएन ।

केपी ओली प्रचण्डलाई अघोषित रुपमा हत्यारासम्म भन्न बाँकी राख्दैनथे । प्रचण्ड पनी के कम ओलीलाई राष्ट्रघाती महाकाली सन्धीको अगुवा देखि अनेकन तल्लो स्तरको गालीगलौज गर्थे । एमाले बहुदलीय जनवादको पगरी गुथेर आएको पार्टी, माओवादी जनसत्ता चलाउँदै सत्ता कब्जाको रणनीति बनाउँदै जंगलबाट हतियार बिसाएर आएको पार्टी । दुवैको विचार र सिद्धान्त नै फरक–फरक भएकाले आम निर्वाचन अगाडी यिनीहरुको मिलन असंभव हो भनेर उनीहरुले नै भाषण गरेका हुन् । तर, कुन शक्तिले पूर्व र पश्चिम फर्किएकाहरुलाई एउटै बाटोमा ल्यायो ? अचम्म भइरहेको छ । त्यसो त राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु कोही हुँदैनन् त्यसै भनिएको रहेनछ । कुनै बेला एकले अर्काको अनुहार हेर्न समेत नरुचाउने केपी पीके अहिले भारुन्ड जस्तो एउटै ज्यानमा दुई टाउका भएका छन् । सायद विश्व राजनीतिमा यो आठौं आश्चर्य हो ।

बहुलदीय संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भन्ने माओवादी जसै त्यही संसदीय खेलमा आयो, सत्ताका रसास्वादन गर्न थालेपछी कम्युनिजम र क्रान्तिलाई बागमतीमा बगाउँदै स्वयं खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने खेलमा लागेको जगजाहेर छ । तत्कालिन नेकपा एमालेको त कुरा के गर्नु पिँध नभएको लोटा भनेर त प्रचण्डले मात्र हैन कांग्रेसले पनी भनेकै हो ।

तसर्थ, जनतालाई दुई तिहाईको ललिपप देखाएर, स्थायी शान्ति, समृद्ध मुलुक निर्माण र राष्ट्रिय अखण्डता तथा स्वाधिनताको रक्षार्थ कम्युनिस्टहरुको एकता भनेर जनताबाट दुई तिहाईको बहुमत लिएपनी त्यो देखावटी मात्र रहेछ भन्ने अहिले आएर चरित्रार्थ भएको छ । प्रष्ट भन्नुपर्दा नेपालका कम्युनिस्टहरुले पटक–पटक अस्थायी सरकारको चपेटामा परेका जनतालाई स्थायी सरकारको ललिपप देखाएर सत्तामा पुग्ने भर्याङ मात्र बनाएका रहेछन् । यिनीहरुमा देश र जनता प्रति जिम्मेवारी छ भन्ने त एकरत्ति पनी देखिएन ।

२०६४ सालदेखि ०७४ सालसम्मको राजनीतिक उठाफेरले आधा दर्जन बढी सरकार बने तर, कुनैले जनताका पक्षमा राजनीति गरेनन् । मुलुकको पक्षमा राजनीति गरेनन् । कांग्रेस, माओवादी, एमाले, मधेशवादीले नै १० वर्ष मुलुकको शासन सत्तामा रजाईं गरे । विकास र शुशासनको पाठ पढाएर कहिल्लै नथाक्ने यिनीहरुले सत्ताको भोग गर्दा जत्तिको भ्रष्टाचार कहिल्लै गरेनन् । आफन्त, नातावाद, कृपावाद यिनीहरुले जत्तिको कसैले गरेनन् । राष्ट्रियताका सवालमा रगतै उम्लने गरी भाषण गर्नेहरु जति विदेशी तत्वका सामु सायदै यी १० वर्षमा कसैले झुके होलान् । सरकार यहाँ गठन हुन्थ्यो, सपथ खान दिल्ली पुग्ने यिनै कम्युनिस्टहरु हुन् । आज आएर जतिनै राष्ट्रवादको नारा लगाए पनी, जति नै इमान्दारीताको खोल ओढेपनी काम छैन । कांग्रेस र एमालेको राष्ट्रवाद महाकाली सन्धीमै देखिएको हो । माओवादीको त के कुरा गर्नु १० वर्ष जनयुद्ध गर्दा प्रचण्ड, बाबुरामको सेल्टर नै भारत थियो । अहिले नेकपाको राष्ट्रवाद के हो ? लिम्पियाधुरा, लिपुलेक र कालापानीले पक्कै प्रष्ट्याउँने छ ।

जनताले त कम्युनिस्ट शासकहरुको असली राष्ट्रवाद लगभग पर्गेली सके । भारतीय विस्तारवादको विरुद्ध संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नक्सा जारी गरेर ऐतिहासिक काम गरेकै हो तर, भूमी फिर्ता ल्याउनुपर्छ भन्दाभन्दै विषयान्तर गराउने खेल किन ?

नेकपा भित्रको विवाद त्यही लिपुलेक कालापानी र लिम्पियाधुराको परिणाम हो । राष्ट्रियता र स्वाधिनताका सवालमा जसले निर्णय गरेपनी नेपाल र नेपालीको लागी हैन र ? अहिले ‘मैले गरें र तैले गरिनस’ भनेर गाँड कोराकोर किन ?

अहिले नेकपाभित्र देखिएको रडाँकोले पार्टी फुट्ने भयो, दुई तिहाईको सरकार ढल्ने भयो भनेर ‘रोइलो’ गर्नुको अर्थ छैन । समान विचार, समान धारणा भएकाहरु विचको एकतामा फाटो आएको भएपो चिन्ताको विषय बन्थ्यो । यहाँ त एउटा जंगलमा दुई शेर छन् । कसैले कसैको अस्तित्व र पहिचान स्विर्कानै हुँदैन । नेकपा भित्र यतिधेरै असमानताका रेखाहरु छन की, एउटा जोड्दा चारवटा चुटिन्छ । तसर्थ, केपी र पीकेकै कारण नेकपा फुट्यो भने अनर्थ मान्नु हुन्न । जसरी दुई ध्रुवलाई एकत्रित गर्न सकिँदैन । दम्भ र अभिभान भरिएका पिके र केपीलाई मिलाउन सकिँदैन ।

नेकपा अब भारुण्डकै पथमा गइरहेकोमा दुईमत छैन । ओली र प्रचण्डको अहम्ताले नेकपाको अवसान भारुण्डकै जस्तो हुन्छ । एउटा टाउकाले विष खाए अर्को टाउको बाँच्छ भनेर आश गर्नु बेकार हो ।

नेपाली जनताले दलहरुबाट कहिल्लै सन्तोषको सास फेर्न पाएनन् । २००७ सालदेखि आज ०७७ सालसम्मको ७० वर्षे राजनीतिक इतिहास हेर्दा नेपालमा प्रत्येक १०–१५ वर्षमा व्यवस्था परीवर्तनहरु भएका छन् ।

१०३ वर्षे निरंकुश राणा शासन व्यवस्था फाल्यौं, प्रजातन्त्र ल्यायौं । प्रजातन्त्रले पनी केही लछारपाटो लगाएन, पञ्चायती शासन व्यवस्था आयो । त्यसले पनी मुलुकलाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्नु शिवाय केही गरेन । ०४६ सालमा बहुदलीय शासन व्यवस्था ल्यायौं, नयाँ संविधान बनायौं, विश्वकै उत्कृष्ट संविधान भनियो तर, ५ वर्षपनी टिक्न सकेन । माओवादीले राजनीतिक व्यवस्था परीवर्तनकै लागि भनेर शशष्त्र द्वन्द्व शुरु गर्यो ।

बहुदलीय संसदीय शासन व्यवस्था भनेको ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो’ भनेर १७ हजार नेपाली जनताको ज्यानको आहुति दिएको माओवादीले अन्ततः हत्या हिंसाको राजनीति त्यागेर संसदीय व्यवस्थामा आयो तर, उसले पनि त्यहि राजनीति गर्यो जुन हिंसाको राजनीति नगरी बसेकाहरुले गरीरहेका थिए । यो १० वर्षमा मुलुकलाई एक चिर्कटो संविधान दिनु, संघिय प्रणालीमा जानु, धर्म निरपेक्षता घोषणा हुनु तथा राजतन्त्र फाल्नु वाहेक जनताले केही पाएनन् । उल्टै एउटा राजा फालेर सयौं राजाहरु टोलटोलमा जन्मिए । जसले राज्यको स्रोत साधनमाथि दिनदहाडै लूटपाट मच्चाउनु वाहेक केही गरीरहेका छैनन् ।

आम निर्वाचन पछी आएको दुई तिहाईको सरकारबाट जनताले आशा अपेक्षा गर्नु अस्वभाविक थिएन । २० औं वर्षदेखि राजनीतिक अस्थिरतामा रुमलिएर निराश भएका जनतालाई दुई तिहाईको ललिपप देखाएका कम्युनिस्टहरुले यो बेला आन्तरिक कलहमा भुल्ने समय थिएन । देश आन्तरिक तथा बाह्य संकटमा परेको बेला, कोरोना महामारी र बाढी पहिरोले जनता त्रास र पीडामा परेको बेला थोरै भएपनी राज्य संयन्त्रले मल्हम लगाउनु पर्दथ्यो । तर, जनमतकै अवमुल्यन गर्दै कुकुर विरालोको जस्तो कहिल्लै नसिद्धिने कलह निकाले । यसले हाम्रो लोकतन्त्र र राष्ट्रियता धर्मराएको छ नै जनताका नजरमा नेपालका कम्युनिस्टहरु कहिल्लै उनठ्ने गरी गिर्दै गएका पनी छन् ।

नेकपा अब भारुण्डकै पथमा गइरहेकोमा दुईमत छैन । ओली र प्रचण्डको अहम्ताले नेकपाको अवसान भारुण्डकै जस्तो हुन्छ । एउटा टाउकाले विष खाए अर्को टाउको बाँच्छ भनेर आश गर्नु बेकार हो । विष मुख र घाँटी हुँदै पेटमै जान्छ । पेट त दुवैको एउटै हो ।

प्रतिकृयाहरु
Loading...