आज साउनको दोस्रो सोमबार: भगवान शिवको प्रिय दिन, यसरी गर्नुहोस् पूजा

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार शिवको पूजा आराधना गरिदैछ । हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने दोस्रो साउने सोमबारमा शिवको पूजा आराधनाका लागि शक्तिपीठहरुमा भक्तजनहरु जाने गर्दछन् ।

तर यसवर्ष कोरोनाका कारण धेरै शक्तिपीठहरु खुलेका छैनन् भने धेरै जना एकै ठाउँमा भेला हुन नपाउने सरकारको निर्देशन अनुसार कतिपयले घरमै र कतिले नजिकैको शिव मन्दिरमा सामाजिक दूरी कायम गरेर पूजा आराधाना गरिरहेका छन् । साउन महिनाको सोमबार भगवान शिवको प्रिय दिन भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ । यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ । विशेषगरी महिलाहरुले हरियो, पहेलो र रातो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने गर्छन् ।

ज्योतिषशास्त्रअनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यस दिन शिवोपासना विशेष मानिन्छ । साउन महिनाको सोमबार गरिने शिवको व्रत तथा पूजा विशेष फलदायी हुने जनविश्वास छ ।

पशुपति नखुल्ने
साउनको दोस्रो सोमबार आजपनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि नखुल्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू भएपछि देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत धेरै भीड हुने कार्यालय अझैसम्म पनि बन्द छ ।

अन्य क्षेत्रको बन्दाबन्दी खुला गरिए पनि सरकारले पछिल्लो पटक गरेको निर्णयमा मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने नै नीति लिएकाले मन्दिर नखोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

साउनको पहिलो सोमबार ५ गते हजारौँ भक्तजनले पशुपति क्षेत्रका विभिन्न शिवालयमा पूजा आराधना गरेका थिए । मूल मन्दिरमा साउन महिनामा पनि दर्शन गर्न नपाइएको भन्दै भक्तजनले गुनासो गरेका थिए । उपत्यका एवं देशका अन्य शिवालयमा भने भक्तजनको भीड लागेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *