मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

असन तथा महाबौद्धमा व्यापार गर्ने ५ जनामा कोरोना पुष्टि, स्थानीयमा त्रास

काठमाडौं । राजधानीको असन तथा महाबौद्धमा व्यापार गर्ने एकै परिवारका ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण देखिएपछि त्यस क्षेत्रका पसलहरू बन्द गरिएको छ । त्यहाँ कोरोना परीक्षणलाई व्यापक बनाइने भएको छ ।

शहीद शुक्रराज अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भारत सीतामणिबाट फर्किएका एकै परिवारका ५ जनामा कोरोना देखिएको बताए । उनले छोरी, बाबुआमा, भाइ र छोरीको छोरालाई कोरोना सङ्क्रमण देखिएको बताए ।

गएको बिहीबारदेखि सो परिवारको परीक्षण सुरु भएको थियो । सङ्क्रमितहरूको उमेर ८ वर्षदेखि ६० वर्ष रहेको छ । सङ्क्रमित सबैलाई अहिले टेकुस्थित शहीद शुक्रराज सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । सुरुमा भाइलाई लक्षण देखिएपछि परीक्षण गरिएको थियो । पछि परिवारलाई समेत परीक्षण गर्दा कोरोना देखिएको हो ।

डा. राजभण्डारीले उनीहरू असन र महाबौद्धको बीचतिर व्यापार गर्ने व्यक्ति भएको र पछिल्लो समय उनीहरूले हाल पसल नखोलेको जानकारी आएको उल्लेख गरे । उनीहरूलाई कोरोना पोजिटिभ देखिएपछि वरपरका ५८ जना स्थानीय तत्काल परीक्षण गरिदिनुपर्‍यो भन्दै टेकु पुगेका थिए ।

तर, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले खतरामा परेकाहरूको स्थानीय तहमै आएर परीक्षण गर्ने आश्वासन दिएर पठाएको थियो । सोमबारबाट भने महाबौद्ध क्षेत्रका स्थानीयले त्यस क्षेत्रका पसल बन्द गराएका छन् । -गोरखापत्रबाट

प्रतिकृयाहरु
Loading...