गोदानको निर्वाचनः कसको पल्ला भारी ?

काठमाडौं । यहि साउन २४ गते हुन गइरहेको सरकारी चिकित्सक संघ (गोदान) को निर्वाचनले माहाेल तातिएको छ । सरकारी चिकित्सकहरु यतिबेला आ–आफ्नो पक्षलाई भोट माग्न र जिताउन सक्रिय भएर लागेका छन् ।

स्वास्थ्य क्षेत्रको विकास विस्तार र सरकारी चिकित्सकहरुको हक अधिकारका लागि सक्रिय रहने गोदानको नेतृत्व लिने दाउमा खासगरी तीन चिकित्सकहरु सक्रिय देखिएका छन् । यसपटक गोदानको निर्वाचनमा वर्तमान कार्य समितिका महासचिव डा. रविन खड्का, गोदानकै पूर्व उपाध्यक्ष डा. समाज गौतम तथा पुराना चिकित्सक डा. दिपक थापामगरको भिडन्त हुने सुनिश्चित भएको छ ।

यी मध्येपनि संघका वर्तमान महासचिव डा. रविन खड्का अध्यक्षको पहिलो दावेदार हुन् । उनी हाल सुर्खेतमा छन् । डा. खड्का वीर अस्पतालको उप–निर्देशक पनि हुन् । रेडियोलोजिष्ट डा. खड्काले वर्तमान गोदानको कार्यकालमा सरकारी चिकित्सकहरुका हक अधिकार संरक्षण र सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । राजधानी तथा राजधानी बाहिरका अधिकांश मतदाताहरु डा. खड्कालाई अध्यक्षमा जिताउने अभियानमा छन् ।

राजनीतिक रुपमा पनि डा. खड्का सत्तारुढ नेकपा तिर भएकोले उनलाई गोदानको निर्वाचन जित्न सहज हुने अनुमान गरीएको छ । यस्तै ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. गौतम पनि गोदानको अध्यक्षमा उम्मेद्वारी दिने तयारीमा रहेका छन् । उनीसँग यस अघि गोदानको उपाध्यक्ष भएर काम गरेको अनुभव छ । गोदानको बरिष्ठ उपाध्यक्षमा पराजित भएपनि यसपटक उनले राम्रै तयारी गरेको उनी निकट सरकारी चिकित्सकहरुको धारणा छ । उनी ११ औं तहका ६ वर्ष पुगेका सिनियर डाक्टर हुन् ।

यसैगरी गोदानको आगामी नेतृत्व गर्न तम्सिने अर्का उम्मेद्वार हुन् वीर अस्पतालका सर्जन डा. थापामगर । गोदानलाई सिनियर चिकित्सकहरुको समेत संस्था बनाएर लैजाने उद्धेश्यकासाथ अध्यक्षमा लड्ने सोंच बनाएका डा. थापा मगर राजनीतिक रुपमा अहिलेसम्म कतै खुलेका छैनन् । गोदानको महासचिव पद पनि आकर्षक पद हो । गोदानको महासचिवका युवा चिकित्सक डा. किर्तिपाल सुवेदीले चाहना देखाएका छन् ।

परोपकार तथा प्रसूती गृहका प्रसूती तथा स्त्री रोग विशेषज्ञ डा. सुवेदी अहिले गोदानका केन्द्रीय सदस्य हुन् । यता वीर अस्पतालका डा. विजयबाबुले पनि महासचिवमा उम्मेद्वारी दिने चर्चा छ । उनी वीरमा माष्टर इन सर्जरी गरिरहेका रेजिडेन्ट चिकित्सक हुन् । गोदानमा १४ सयभन्दा बढी सरकारी चिकित्सक आवद्ध छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *