कसको काँधमा जाला विपीको विरासत ?

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी आन्तरिक विवादमा छट्पटाइरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने आउँदो फागुनमा हुन गइरहेको १४औं महाधिवेशनको तयारीमा छ ।

१४ औं महाधिवेशनका कार्यक्रमहरु चलिरहेका छन् । र, १४ औं महाधिवेशन पछि पार्टीलाई कसले कसरी नेतृत्व गर्ला ? के आउँदो आम निर्वाचनमा नेपाली कांग्रेसले गुमेको विरासत फिर्ता ल्याउला अथवा, विपी कोइरालाले रोपेको कांग्रेसको नीति तथा सिद्धान्त पुर्नजिवित होला ?

पार्टीभित्र मात्र हैन कम्युनिस्ट विचारधारा बोकेका हरुविचपनि चर्चा परिचर्चा भइरहेको छ । कांग्रेसको महाधिवेशन तर्फ सबैभन्दा बढि चिन्ता कम्युनिस्टहरुलाई छ, किनभने बर्तमान कांग्रेस नेतृत्वको कारण कांग्रेसले लय गुमाएको कम्युनिस्टहरुको बुझाई छ ।

हुन पनि हो, बर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाले ०७४ सालको आम निर्वाचनमा पार्टीलाई जनताका माझ घनिभूत रुपमा पुर्याउन नसक्दा कम्युनिस्टहरुले भोट बटुले । सोझो अर्थमा भन्ने हो भने, कांग्रेस नेतृत्वले आम जनतालाई आफ्ना एजेण्डाहरु प्रष्ट रुपमा बुझाउन नसक्दा कमजोर हुनु पर्यो ।

कांग्रेस केन्द्रीय समितिले पनि यो कुरा स्विकार गरेको छ । अबको १४ औं महाधिवेशनबाट कांग्रेसलाई देशकै पहिलो पार्टीको रुपमा उभ्याउन सक्ने क्षमता भएको नेतृत्वको माग भएको छ । र, सोहि अनुसार आगामी फागुनबाट विपी कोइरालाको विरासत जोगाउने भन्दै सभापतिको दौडमा आधा दर्जन आकांक्षीहरु लागेका छन् ।

अहिले देउवा पावरमा रहेकाले पार्टीभित्रका रिक्त रहेका पदहरुमा र भातृ संगठनहरुमा धमाधम आफ्ना नातागोता पर्ने कार्यकर्तालाई भर्ति गराइरहेका छन् ।

केहि दिन अगाडी मात्रै पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा सुनिल थापालाई कांग्रेसमा प्रवेश गराए । राप्रपा त्यागेर कांग्रेसमा आएका थापालाई कांग्रेसीले नै रुचाएनन् । लगत्तै देउवाले ९ वटा भातृ संगठनहरुको ६ महिना म्याद थप गरे । १४ औं महाधिवेशनको कार्यक्रम चलिरहँदा सभापति देउवाले हतारहतार एकपछि अर्को निर्णय गर्दा बरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाउँदै पत्रकार सम्मेलन नै गरे ।

पार्टीमा देउवालाई सहयोग गर्नेहरुमा उपाध्यक्ष विजयकुमार गच्छदार, महामन्त्री विमलेन्द्र निधी, मीन विश्वकर्मा, प्रवक्ता विश्वप्रकाश शर्मा लगायत छन् । देउवाको कार्यशैलीबाट केन्द्र, जिल्ला, प्रदेश र स्थानीय तहसम्मै असन्तुष्ठ पक्षहरु रहेका छन् । खासगरी पछिल्लो समय, विवादित एमसीसी प्रकरण, ललितानिवास जग्गा प्रकरण, ओम्नी समुह प्रकरण लगायतमा देउवाको मौनताले राष्ट्रिय राजनीति नै प्रभावित भएको छ ।

उनलाई व्यक्तिगत स्वार्थमा मुलुकको सार्वभौमसत्ता धरापमा पार्न खोजेको आरोप छ । कांग्रेस सभापतिको दौडमा रहेकाहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष देउवाका मुख्य प्रतिष्पर्धी हुन् । देउवाका गलत कृयाकलापविरुद्ध पछिल्लो समय खुलेर बोल्न थालेका पौडेल एक्लैले सभापतिको दावेदारी गरेका हैनन् ।

उनको पक्षमा रहेका डा. शेखर कोइराला, महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला सभापतिका आकांक्षी हुन् । तर, यि मध्ये पौडेल क्याम्पका बलिया प्रतिष्पर्धी भनेका डा. शेखर कोइराला हुन् ।

१३ औं महाधिवेशनमा पनि सर्वाधिक लोकप्रिय मत ल्याएर विजयी भएका डा. शेखर कांग्रेसी कार्यकर्ता माझ मात्र हैन आम जनताविच पनि उत्तिकै लोकप्रिय छन् ।

स्रोतका अनुसार शेखरलाई सभापति बनाउन सुजता, शशांकको सहमति भइसकेको छ । कांग्रेसको गुमेको विरासत जोगाउनकै लागि भएपनि शेखरलाई ल्याउनु पर्छ भन्नेहरु छन् । त्यसो त शेखरलाई दृढ निर्णय गर्न नसक्ने नेताका रुपमा पनि अर्थयाउने गरीएको छ ।

१३ औं महाधिवेशनमा महामन्त्री हुने अवसर रहँदा रहँदै शेखर ब्याक भएको आरोप छ । साथै उनलाई विपी कोइरालाको दम्भ बोकेको नेता भन्नेहरु पनि छन् ।

तर, पछिल्लो समय उनी जनस्तरमै गएर कार्यकर्ताहरुसँग घुलमिल भएकाले लोकप्रियता बढेको छ । उनले लामो समयदेखि पार्टी सुदृढिकरण अभियान चलाइरहेका छन् । कोरोना महामारी शुरु भइरहँदा पनि उनी जिल्ला दौडमा थिए । उनको जिल्ला दौडले त्यत्ति खेरै आगामी पार्टी सभापतिको दौडको रुपमा बुझिएको थियो ।

संभवतः पौडेल क्याम्पबाट रामचन्द्र, शशांक, शेखर मध्येबाट एक जना सभापतिको साझा उम्मेद्वार हुनेछ । सभापतिको आकांक्षा पाल्नेहरुमा काठमाडौंका रैथाने अर्जुननरसिंह केसी पनि हुन् । उनलाई काठमाडौं, नुवाकोट र धादिङतिरबाट सभापतिमा उठ्नुपर्छ भन्नेहरु छन् ।

यद्यपि, पार्टीमा उनलाई गगन थापाले नै काउन्टर दिने अवस्था छ । गगन थापा यसपटक महामन्त्रीको शशक्त दावेदार हुन् । पार्टीमा कृष्ण सिटौला अर्का सभापतिका आकांक्षी हुन् । खुलेर भन्न नकसेपनि सिटौलाले भित्रभित्रै आफ्नो सञ्जाल बनाइरहेका छन् । क्षेत्रिय र जिल्लागत रुपमा उनले आफ्ना पक्षकालाई निर्देशन दिएका छन् ।

पूर्वमहामन्त्री समेत रहिसकेका सिटौलाले आफ्नो सम्पर्क कार्यालय खोलेरै सक्रियता बढाएका छन् । सभापतिका अर्का दावेदार हुन् पूर्वसहमहामन्त्री प्रकाशमान सिंह ।

अहिले उनको निवासमा साँझ विहान कार्यकर्ताहरुको भिड लाग्ने गरेको छ । उनले बर्तमान पार्टी सभापति शेरबहादुरलाई असफल सभापति भनिसकेका छन् ।

अहिले कांग्रेसभित्र कृयाशिल सदस्यता वितरणको काम धमाधम भइरहेको छ । महाधिवेशन प्रतिनिधि छानिएपछि मात्रै सबैले आ–आफ्नो दावेदारी अगाडी सार्ने रणनीति बनाएका छन् ।

अहिले नै उम्मेद्वारी सार्वजनिक गर्दा प्रतिष्पर्धीले चलखेल गर्ने ठाउँ पाउने भएकोले कसैले खुलेर बोलेका छैनन् । तर, आ–आफ्ना पक्षका नेता कार्यकर्ताबाट बोलाउने गरेका छन् ।

यति चैं होकि, कांग्रेसमा यसपटक खुलेरै देउवाको विकल्प खोजिएको छ । देउवाले पार्टीलाई रसातलमै पुर्याएको भन्दै नेताहरुले उनलाई राजनीतिबाट सन्यास नै लिनुपर्ने सम्म भनेका छन् ।

पार्टीका दोस्रो दर्जाका नेताहरुले भने जो आएपनि विपीको सिद्धान्तलाई संरक्षण गरेर लैजानु पर्नेमा छन् । कांग्रेस पार्टी पत्तासाफ हुनुमा विपीको सिद्धान्त र लिगेसी कुल्चिएकाले हो भन्नेहरु छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *