कोरोना सम्बन्धी सचेतना बढाउन टोल-टोलमा पुग्यो मेडिकल विद्यार्थी समुह

सुनसरी । काेराेनासम्बन्धी सचेतना बढाउन धरान मेडिकल विद्यार्थी समूहका विद्यार्थीहरु धरानका वडा/वडामा पुगेका छन् । महामारीका समय हाेहल्लाको त्रासले अनावश्यक रुपमा मानसिक तनाव बढाउन सक्ने भएकाले दैनिक जीवनशैलीलाई स्वभाविक रुपमा निर्वाह गर्न परामर्श दिनका लागि टाेली टाेल/टाेलमा पुगेकाे हाे ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित नेपाल तथा विदेशमा मेडिकल साइन्स अध्ययन गरिरहेका धरानका विद्यार्थीहरुले कोरोना महामारीबाट सुरक्षित रहने उपायहरु, यसबाट समुदायमा पर्न सक्ने मानसिक प्रभाव न्युनिकरण गर्न धरानमा अभियान सञ्चालन गरेका हुन् । कोरोनाका कारण भएको लकडाउनले पठनपाठन रोकिएपछि विदेशबाट समेत धरान आएका विद्यार्थीहरुसहित ८० जनाको समुह अभियानमा संलग्न छन् ।

एक दिनअघि मात्र धरान वडा १६ मा खटिएका समुहले वडाको प्रभात मार्ग–पुण्य मार्ग टोल विकास समुहको सहकार्यमा स्थानिय समुदायलाई सचेतना गराएका थिए । मास्क लगाउने र हात धुने कार्यलाई सर्वसाधारणले सामान्य रुपमा लिएर लापरवाही गरेकाे भन्दै हात धुँदा र मास्क लगाउँदा ध्यान दिनुपर्ने कुराहरु प्रयोगात्मक प्रदर्शन गरी टोलबासी बुझाएका थिए ।

टोलीले कोभिड–१९ को महामारी बढेपछि यसबारे चलेको गलत हल्ला र त्यस्ले बढाएको त्रास, अन्यौलका कारण सर्वसाधारणमा अनावश्यक रुपमा मानसिक तनाव बढेकोमा ध्यानाकर्षण गराउँदै स्थानियवासीलाई त्यस्तो तनाव, त्रास लिन नहुने भन्दै सम्झाए । अनावश्यक रुपमा त्यसरी तनाव लिँदा शारिरिक, मानसिक रुपमा कमजोर मानिसहरु आत्महत्यातर्फ उन्मुख हुने कुराप्रति सचेत समेत गराएका छन् ।

हालसम्म करिब ३ हजार मानिसहरुलाई सचेत गराईसकेको मेडिकल विद्यार्थीका अगुवा सशांक ताम्राकारले जानकारी दिए । उनले भने, ‘कोरोना लाग्छ भनेर हरेश खानुहुन्न, त्यसले मानसिक स्वास्थ्यमा पर्छ र मानिस आत्महत्या गर्ने अवस्थामा पुग्छ ।’  नले शारिरिक दुर्वलता र पौष्टिक खानपिनको कमीले पनि त्राश, निराशा बढ्ने बताउँदै प्रोटिनयुक्त हरियो तरकारी, गेडागुडी दैनिक खानामा लिन सुझाव पनि दिएका छन् ।

टोलीका विद्यार्थीहरु विनम्र घिमिरे, रिमा श्रेष्ठ, विकाश ढकाल, सहादत मन्सुरी लगायतले कोरोना भाइरस संक्रमणका बारे सचेतना दिँदै आएका छन् । अभियान कार्यक्रम अनुसार धरानको २० वटा वडालाई १० वटा क्लष्टरमा विभाजित गरी विद्यार्थीहरु १० समूहमा बाँडिएर वडाको टोल टोलमा पुगिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *