‘भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने !’

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धबारे दिएको अभिव्यक्तिमा आपत्ति जनाएका छन् ।

जयशंकरले कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिज ले गरेको अनलाइन अन्तर्क्रिया कार्यक्रममा ‘संसारले सम्झिने दुई महान् भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी’ रहेको बताएका थिए । यही अभिव्यक्तिमा प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आपत्ति जनाएका हुन् ।

आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य आफूहरूका लागि स्वीकार्य नहुने उनकाे भनाइ छ । उनले लेखेका छन्- ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भू-भाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरूद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ ।’

यस्तै उनले राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभुमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्ने तर्क गरे । यस्ता टिप्पणीले मुल विषय मोड्न सक्ने तर दीर्घकालीन हितमा हृदय जोड्न नसक्ने उनकाे भनाइ छ । उनले थप लेखेका छन्- ‘बुद्ध नेपालमा जन्मिएका हुन् भनेर संसारमा कहिँबाट दर्ता प्रमाण हामीले मागेका छैनौं ! भारतीय भुमिबाट विगतमा आएका टिप्पणीपनि `नेपाल बुद्ध भुमी हो´ भनेर स्वयं भारतीय प्रम नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भैसकेको हो l फेरिपनि आपत्तिजनक टिप्पणी अत्यन्तै दु:खद छ l’

प्रवक्ता शर्माले भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने ! द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार ? भन्दै प्रश्न समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *