कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न: मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि काम गर्दा रकम अभाव हुन नदिने बताएका छन् । सोमबार हेटौँडामा कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकमा मातहतका निकायलाई निर्देशन दिँदै मुख्यमन्त्री पौडेलले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसमेतलाई सङ्क्रमण हुन थालेको बताउँदै कोरोना नियन्त्रण र रोकथामका लागि गम्भीर हुने बेला आएको बताए ।

मुख्यमन्त्री पौडेलले प्रदेशमा कोरोनाका कारण जटिल अवस्था सिर्जना हुनसक्ने देखिएकाले अत्यन्तै सजग हुनुपर्ने धारणा राखे । उनले कोरोना नियन्त्रणका लागि सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । पौडेलले अत्यावश्यक सामग्रीबाहेकको ढुवानी तथा पैठारी रोक्नेलगायत स्थान र अवस्था हेरेर निषेधाज्ञा वा लकडाउन गर्नुपर्ने उल्लेख गरे ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेशका प्रमुख सचिव डा मानबहादुर विश्वकर्मालगायतको सहभागिता रहेको बैठकले कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले अवलम्बन गर्नुपर्ने नीतिका बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *